आहा ! ढोरपाटन

बागलुङ । यतिवेला ढोरपाटन उपत्यका ढकमक्क फुलेका वनफूलले ढाकिएको छ। रातो, पहेँलो, वैजनी, गुलाबी रंगमा फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक र बाह्य पर्यटकको ध्यान खिचेको छ। एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए। जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे। दर्शनका लागि पुगेका भक्तजनलाई फाँटभरि फुलेका वनफूलले छुनै सकेको थिएन।

तर, पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रंगीचंगी वनफूलसँग पिरती नगाँसी फर्किँदैनन्। खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ। पाटनभरि फुलेका वनफूलले यहाँको सुन्दरतलाई बढाएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रचारले वनफूलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढिरहेका छन्। यो याममा दैनिक दुई सयभन्दा बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्छन्।
स्थानीयले राँके फूलका रूपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूल, बुकीफूल, मदानेफूललगायतको नाम दिएको छ। फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढाएका छन्। देशका ठुला सहरबाट बढी पर्यटक रमाउन आउँछन्। फूलसँग रमाउन आउने पर्यटकको संख्या बढेपछि ढोरपाटन उपत्यकामा सञ्चालित होटेल व्यवसाय पनि फस्टाउन थालेको छ। पहिले ढोरपाटन आउने पर्यटकले खासै चासो नदिए पनि अहिले हरेक पर्यटकको ध्यान पाटनभरि फुलेका फूलले खिच्ने गरेको होटेल व्यवसायी धीरेन्द्र घर्ती मगरले बताए।

पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको संख्या धेरै बढेको र फूलसँग रमाउने बढी भएको उनको भनाइ छ। पहिले खानबस्न सुविधा नहुँदा पर्यटक कम आउँथे, तर अहिले धेरै होटेल र घरवास (होम–स्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेको पहिलो रोजाइ बनेको घर्ती मगर बताउँछन्। वनफूललाई पर्यटकले धेरै रुचाएपछि यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘वनफूलको पहिले खासै महत्त्व थिएन, मान्छे मन्दिरमा आएर पूजा गरेर जान्थे, तर अहिले पाटन घुम्न आउँछन्। त्यसले गर्दा उनीहरूको रोजाइ वनफूल भएको छ। वनफूलले पछिल्लो समय हजारौँ पर्यटकलाई आकर्षित गरेको छ। यसको संरक्षण भने हुन सकेको छैन। स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ, नत्र यो फूल मासिन पनि सक्छ।’

वनफूल पाटनभरि फूल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैंसी चर्ने गर्छन्। वस्तुभाउको गोबरले वनफूल राम्रो हुन्छ। पछिल्लो समय पाटनमा जथाभावी सवारीसाधन चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटेल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताए। अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उनको भनाइ छ। पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फुलेको पुनले बताए। बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उनको भनाइ छ। बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउँछन्। वनफूल खासगरी असार पहिलो सातादेखि भदौसम्म पाटनमा रहन्छ। वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउँछन्।

‘वनफूलसँग रमाउन मान्छेको घुइँचो लागेको देख्दा हामी निकै चकित छौँ। किनभने यहाँ धेरै वर्षदेखि बस्दै आएका छौँ। पहिले कोही पनि फाँटमा गएर फूल टिप्दैनथे, तर अहिले ढोरपाटन आउने हरेक मान्छे फाँटको बिचमा गएर फूल टिपेर फोटो खिच्छन्,’ उनले भने, ‘फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटेल व्यवसाय पनि चलायमान भएको छ।’

ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटन पनि उक्लिन्छन्। ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्न करिब पाँच घण्टा पैदलयात्रा गर्नुपर्छ। यतिवेला समूहमा वनफूलसँग रमाउन आउने बढी छन्। बुटवलदेखि आएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुंग भएको बताए। बुटवलमा धेरै गर्मी भएकाले एक साताका लागि ढोरपाटन आएको उनको भनाइ छ। सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखेपछि यहाँ आएको गिरीले बताए। ‘आहा ! ढोरपाटन कति सुन्दर रहेछ। गत साल हाम्रा साथीहरू यहाँ आएर फोटो र भिडियो खिचेका थिए। त्यो देख्दा आउन मन लागेको थियो। यसपालि आउने मौका मिल्यो। यहाँ आएपछि त स्वर्गमै आएजस्तो भयो। बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ। फूलसँग रमाउन त निकै मजा आउँदो रहेछ। यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको छैन।’

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार