
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुर्ख्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उनले अहिले उक्त पेसाको विकल्प खोज्न थालेका छन् । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताउँछन् ।
“मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ”, बादीले भने, “अहिले यो पेसाबाट घर खर्च जोहो गर्नसमेत मुस्किल पर्छ ।” वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहज रूपमा पाउन मुस्किल छ । यस कारण पनि यो समुदायले पुख्र्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।
“केही वर्ष अघिसम्म तीजको बेला र दसैँ तिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो”, बादीले भने, “अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारु समुदायले मादल बनाउन धेरै माग गर्छन् ।” उनले थारु समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको बताए । अहिले पनि थारु समुदायबाट मादल बनाउन धेरै माग आएको छ । “अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ”, उनले भने, “भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् ।” दसैँका समयमा मादल बनाएको सानो र ठुलोको रु दुई हजारदेखि रु १२ हजारसम्म लिने गरेको बादीले बताए ।
छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उनको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउँछन् । “जति बेलासम्म छाला र (खमारी) काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो ।” वादीले भने, “अहिले जङ्गलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।”
दमाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उनका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्म खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्र पाउँदैन”, बादीले भने, “भारतीय सहरहरूमा पाइन्छ, सिमानाकामा ल्याउन पाइँदैन ।”
अहिले जुत्ता उद्योगबाट घर खर्चको जोहो गरिरहेका बताउँदै उनले सिजनमा भने मादल बनाउने गरेको बताए । “अहिले सिजनमा माग आएका बेला मात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु”, बादीले भने, “पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ ।” बादी समुदायको पुख्र्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दमाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द