
बाँके । नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनले घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् । ‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो’, उनले भनिन् ।
मध्यवर्ती क्षेत्रमा रहेको स्वर्गद्वारी सामुदायिक वनको हरियालीले वरपरबाट घेरिएको च्यामा ताल बर्दियाको बाँसगढी नगरपालिका–२ राँझाटापुमा पर्दछ । उनले अरूलाई पनि च्यामातालको मनमोहक दृश्य हेर्न जान आग्रह गरिन् । पूर्णिमा जस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ की सङ्गीता थापाले पनि आफू प्रायः वनभोजका लागि च्यामा सिमसार क्षेत्रमा आउने गरेको बताइन् । प्राकृतिक सुन्दरता र शान्त वातावरणमा रमाउन रूचाउने सङ्गीता साथीभाइ र परिवारसहित घुम्न होस् या वनभोजका लागि होस् च्यामाताल नै जाने गरेको उनको भनाइ छ । ‘प्रकृतिमा रमाउन मनपर्ने भएको हुनाले म यहाँ नियमित नै आउँछु’, उनले भनिन्, ‘यहाँको सुन्दरताले नै मनलाई लोभ्याउँछ । र यहाँ आएपछि बेग्लै प्रकारको खुसी मिल्छ ।’
च्यामा तालमा परिसरमा वनभोजका लागि आएका बर्दिया बढैयाताल–४ का श्यामकुमार पौडेलले पनि पूर्णिमा र सङ्गीतालाई जस्तै उक्त तालले मनमोहक बनाएको बताए । च्यामातालका बारेमा आफूले सुनेको तर पहिलो पटक साथीसँग घुम्न आएको बताए । ‘म यही जिल्लाको भए पनि यहाँ पहिलो पटक आएको हुँ । साथीहरूले सुनाएको जस्तै सुन्दर र आकर्षक रहेछ,’ उनले भने । च्यामाताल सिमसार क्षेत्रमा वनभोजका जानेका लागि बाँसगढी नगरपालिकाले रु ३० लाखको बजेट खर्चिएर वनभोज स्थल बनाएको वडा नं २ का वडाध्यक्ष अर्जुन खड्काले बताए । उनका अनुसार विसं २०६२÷६३ तिर उक्त ताल भएको ठाउँमा पानीको मुहान थियो, जमिन भासिन्थ्यो । त्यसरी भासिएको ठाउँलाई संरक्षण गर्न सामुदायिक वनले केही बजेट खर्च गरेर वरपर निश्चित घेरा लगाएर बाँध बाँधेर ताल तलैया बनाएको हो ।
विसं २०७४ मा बाँसगढी नगरपालिकाले आफ्नै खर्चमा ताललाई सिमसारका रूपमा घोषित गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज र नगरपालिकाको संयुक्त आयोजनामा च्यामातालको नामकरण गरिएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार हाल उक्त च्यामातालमा दिनप्रतिदिन आन्तरिक पर्यटकको संख्या बढिरहेको छ । बाँसगढी नगरपालिका निर्वतमान प्रमुख सालिकराम अधिकारीले विसं २०७४ मा च्यामाताल र वनभोज स्थलको उद्घाटन गरेका थिए । उनले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यताको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न समुदायले अग्रसरता देखाउनुपर्ने बताए । तालको विकास र संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी समुदायको भएकाले तालको सरसफाइ, व्यवस्थापन, संरक्षण र प्रवद्र्धनमा समुदायले नै चासो देखाउनुपर्ने उनको भनाइ थियो ।
वडाध्यक्ष खड्काका अनुसार उक्त च्यामातालमा भित्रदेखि पानी निस्कने र चौबिसै घण्टा पानी भइरहने भएकाले वन्यजन्तु पानी खान आउने गर्दछन् । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । जसको लम्बाइ ११ सय मिटर रहेको छ भने चौडाइ आठ सय मिटर छ । तालको प्रचारप्रसारमा सहज होस् भन्ने उद्देश्यले बाँसगढी नगरपालिकाको लोगोमै च्यामा सिमसार क्षेत्रालाई समेटेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जङ्गली जनावर र विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान रहेको च्यामाताल सिमसार क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वनभोज स्थल बनाइएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तर लखना चोक हुँदै झण्डै १२ किलोमिटरको दूरीमा च्यामाताल अवस्थित छ । च्यामातालमा रमाउन बाँके र बर्दियासँग जोडिएका जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना