आज पाँहाचह्रे पर्व मनाइँदै

काठमाडौं । स्थानीय नेवार समुदायको दसैँपछिको ठुलो पर्व पाँहाचह्रे शुक्रबार (आज) मनाइँदै छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीले यो पर्व मनाउने गर्छन् । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना र पासाको अर्थ साथी हो । चन्द्रमासको क्यालेन्डर अनुसार चौथौ दिनलाई चह्रे भनिन्छ ।

यो चाडमा खाइने वस्तुमध्ये लसुन मुख्य भएकाले यस चाडलाई ‘लसुने चाड’ पनि भन्ने गरिने संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए । उनले यो चाडलाई काठमाडौँमा नेवार समुदायले दसैँ र तिहार झैँ मनाउँदै आएको जानकारी दिए । यस पर्वमा बिहान भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरीलगायत शक्तिपीठमा गएर देवीको पूजाआजा गरिन्छ ।

बेलुका भने भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । ‘लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घर घरमा खाल्डोमा राखिएका महादेवलाई लसुन राखेर पूजा गरिन्छ,’ उनले भने । ‘विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ,’ स्थानीय पुजारी राजन महर्जन भने । उनले कङ्केश्वरीदेवीलगायतका विभिन्न देवताका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको बताए । पाँहाचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्रामा दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । पाँहाचह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार