
सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गरेका छन् । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन् ।
स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यावसायिक कृषि सुरु गरेका उनीहरुले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिएका छन् ।
अमिर र रघुवीर पाँच वर्ष दक्षिण कोरिया, छविलाल अफगानिस्तानमा काम गरेर फर्किएका हुन् । उनीहरू विदेशमा पनि कृषि क्षेत्रमै कार्यरत थिए । विदेशमा सिकेको सीपलाई सदुपयोग गरी स्वदेशमै व्यवसाय सुरु गरेका तीन मध्येका एक अमिर निरौलाले बताए ।
उनीहरुले २०७४ सालमा सुन्दर कृषि फार्म दर्ता गरेका थिए । सुरुमै आधुनिक प्रविधिको प्रयोग गरेर २० बिघा जमिनमा सागपात लगाएका थिए । जैविक मलको प्रयोग गरी सागपात उत्पादन गरी राम्रो आम्दानी लिइरहेको निरौलाले बताए।
उनले भने, ‘सुरुआतमा छ लाखको लगानीमा डेढ बिघा जमिनबाट सुरु गरेको व्यवसाय अहिले बढेको छ । सुरुआती समयमा लगानी, जमिन र बजार पहुँचको समस्या भए पनि नगरपालिकाबाट सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाबाट सहयोगका साथै डिजिटल मार्केटिङका कारण निकै सहज भएको छ ।’
विदेशको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्नसके स्वदेशमै सम्भावना रहेको रघुवीर चन्द्रवंशी बताए । उनीहरूले चार बिघा क्षेत्रफलमा काँक्रा रोप्नुभएको छ भने तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, घिरौला कोभीलगायत मौसमअनुसारका सागपात लगाएका छन् ।
फार्म सञ्चालकमध्येका एक अमिर निरौलाले भने, ‘वर्षमा एक करोडको सागपात बिक्री हुन्छ, तर सागपात खेतीमा प्रयोग गर्ने मल, कर्मचारीको तलब गरी वार्षिक रु ७० लाख जति खर्च हुँदा सबै खर्च कटाएर २० लाखदेखि ३० लाख रुपैयाँसम्म बचत हुन्छ ।’
उनका अनुसार सञ्चालक बाहेक २० जनाले फार्ममा रोजगारी प्राप्त गरेका छन् । फार्मबाट सबैभन्दा धेरै काँक्रा र टमाटर उत्पादन हुने गरेको छ । उत्पादित वस्तु खरिद गर्न व्यापारी आफैँ फार्ममा आइपुग्छन् ।
गत असोजमा आएको दुई दिनको बाढीले सात बिघा डुवान हुँदा रु ३५ लाख बढीको क्षति भएको उनीहरूले बताए । यहाँ उत्पादित धेरैजसो सागपात झापाको दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालकमध्येका छविलाल चौधरीले बताए । बाँकी सागपात धरानको कृषि उपज, इटहरी, इनरुवा, धनकुटा बराहक्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका लागि लगिने गरिन्छ । कृषि पेसामा मेहेनत धेरै लागे पनि मौसम अनुसारको सागपात उत्पादन भइरहने भएकाले खासै घाटा नहुने उनीहरुको अनुभव छ ।
नगरपालिकाले अनुदानमा ‘मिनी टिलर’ उपलब्ध गराएको छ । साथै मल बीउ अनुदान स्वरुप सहयोग गरेको छ । जसले गर्दा कृषि उत्पादनमा लागत घटाउन मदत पुगेको छ ।
बराह क्षेत्रमा सिँचाइ सुविधा, मलको उपलब्धतालगायतले नगरभित्र सागसब्जीको उत्पादन धेरै हुने गरेको नगरप्रमुख रमेश कार्कीले बताए । बराहक्षेत्र नगरभित्रका करिब ७० प्रतिशत घरपरिवार सागपात खेतीमा आबद्ध छन् । उनले भने, ‘बराहक्षेत्र नगरपालिका सागपात खेतीका लागि उर्वर, प्रख्यात मानिनुका साथै बजारीकरणको समस्या नभएकाले यहाँका कृषकको आकर्षण सागपात खेतीमा बढेको हो ।’
प्रत्येक वर्ष नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक सागपातखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायतमा सहयोग गर्दै आएको छ ।













समाचार
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ