काठमाडौं । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको जनाएको हो । महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि काठमाडौं केन्द्रित सडक प्रदर्शन भइरहेको जनाइएको छ ।
सरकारसँग भएका सहमति र मन्त्रिपरिषदबाट निर्णय भइसकेका केही मागहरु कार्यान्वयन हुने प्रतिबद्धता अनुसार आजको मितिबाट लागू हुने गरी सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको महासङ्घले स्पष्ट पारेको छ । महासङ्घले विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कार्य यथाशीघ्र पुनः सुरु गर्न सबैलाई अनुरोध गरेको छ । तथापि, तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन पुनः तीव्र बनाइने चेतावनी पनि दिइएको छ । नेपाल शिक्षक महासङ्घको यो निर्णयसँगै मुलुकभरका विद्यालयमा पठनपाठन पुनःसञ्चालनमा आउने अपेक्षा गरिएको छ ।