काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँमा आज लोपोन्मुख समुदाय राउटेले काठको पन्यू बनाएर प्रदर्शन गरेका छन् । जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी राउटेले प्रत्यक्ष कला कार्यशाला (लाइभ आर्ट डेमोस्ट्रेसन) मा आफ्ना मौलिक कला प्रस्तुत गरेका हुन् । राउटेहरूको यो हस्त तथा शिल्पकला दैनिक जीवनमा प्रयोग हुँदै आएको छ ।
ललितकला प्रदर्शनीको इतिहासमा पहिलोपटक काठमाडौं आएर प्रत्यक्ष कला सिर्जनामा सहभागी हुन एक समूह बनाई चार जना राउटे काठमाडौँ आएका छन् । उक्त समूहले शुक्रबार काठको कोसी (आरी) बनाएर देखाएको थियो भने आज पन्यू बनाएका प्रदर्शन गरेका राष्ट्रिय ललितकला प्रदर्शनीका संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए । ‘उहाँहरूले बनाएका काठका हस्तकलामा यहाँ अवलोकनका लागि आएका कला पारखी लोभिएका छन् । कला पारखीले राउटेका कलाको तस्वीर मात्रै कैद गरेका छैनन् खरिद गरेर पनि लगेका छन्’, उनले भने । ललितकला प्रज्ञा प्रतिष्ठानले यसरी लुकेर रहेका राउटेका कलालाई पहिलोपटक सङ्घीय राजधानीमा ल्याएर प्रदर्शन गर्ने अवसर दिएको हो ।
यसबाट समुदायको मौलिक कलाको संरक्षणका साथै व्यावसायीकरणमा सहयोग पुग्ने विश्वास गरिएको प्रतिष्ठानका उपकुलपति लामाले बताए । उनले कला बनाउन दीपक शाही, धयर शाही, बाटुली र सुरमानी शाही आएका जनाउँदै महिला राउटेले हातले चोलो बनाएर आफ्नो कला प्रस्तुत गरेका उल्लेख गरे । ‘सधैँ गरिरहेको काम, काठमाडौँ आएर बनायौँ, हामी पैसा लिएर बेच्छौँ’, दीपकले भने, ‘काठमाडौँमा अली गर्मी रहेछ ।’ उनले आफूहरूले डाडु, पन्यू, सन्दुक, कोसी बनाउने र बेच्ने गरेको बताउँदै काठमाडौं आएर कला बनाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिए ।
गत फागुनमा कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटेका मौलिक सिर्जना र कला प्रदर्शन गरिएको थियो । सोही प्रदर्शनीबाट जोडिएका राउटेलाई पहिलोपटक काठमाडौँ ल्याएर कला सिर्जनामा सहभागी गराइएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले बताए । काठमाडौंको प्रदर्शनीमा सूर्यनारायण शाहीले बनाएका पिर्का र ढकनसहित कोसी, लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यूँ राखिएको छ ।
यसवर्ष हस्त शिल्पकलामा उनीहरूले बनाएका कलाले प्रादेशिक पुरस्कार प्राप्त गर्न सफल भएका ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए । उनका अनुसार उक्त पुरस्कारको राशिरु ३० हजार रहेको छ । कुलपति हार्तम्छालीले प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प तथा हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक तथा आधुनिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायत विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाहरू प्रदर्शनीमा राखिएका जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा राउटे, डोम समुदायसहित छ सय पाँच कलाकारका छ सय ५० भन्दाबढी कलाकृति समावेश छन् । मुख्यतः थारू, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कला पनि समावेश छन् । कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने प्रतिष्ठानले जनाएको छ ।