खस साम्राज्य र बौद्ध धर्मः ऐतिहासिक सम्बन्ध र लोपको कथा

सुरज खड्का
नेपालको पश्चिमी भेगमा ११औँ देखि १४औँ शताब्दीसम्म फैलिएको खस साम्राज्य, जसलाई खस मल्ल राज्य वा तिब्बतीमा यात्से पनि भनिन्छ जुन मध्यकालीन दक्षिण एसियाको एक शक्तिशाली राज्य थियो । यो साम्राज्य सिञ्जा उपत्यकालाई केन्द्र बनाएर नेपालको पश्चिमी भाग, तिब्बतको पश्चिमी क्षेत्र र भारतको उत्तराखण्डसम्म फैलिएको थियो । खस साम्राज्यको इतिहासमा बौद्ध धर्मको गहिरो प्रभाव र यसको संरक्षणमा खस राजाहरूको महत्वपूर्ण भूमिका रहेको थियो । तर, समयसँगै यो धर्म यहाँबाट कसरी लोप भयो? गम्भिर प्रश्न यसैमा छ ।

खस साम्राज्य र बौद्ध धर्मको सम्बन्ध
खस साम्राज्यको स्थापना ११ औँ शताब्दीको अन्त्यतिर तिब्बतको ङारी प्रदेशबाट आएका नागराजले गरेका थिए । इतिहासकारहरूका अनुसार, प्रकृतिपूजक पृष्ठभूमिको समाज र राज्यको राजा नागराज र उनका उत्तराधिकारीहरूले बौद्ध धर्मलाई राजधर्मको रूपमा अंगीकार गरेका थिए । सिञ्जा उपत्यकामा रहेको खस दरबारमा झण्डै तीन शताब्दीसम्म (कतिपयले यसलाई ४ सयदेखि ६ सय वर्षसम्म पनि) बौद्ध धर्मको प्रभाव कायम रहेको ऐतिहासिक प्रमाणहरूले देखाउँछ ।

खासगरी, राजा रिपु मल्ल (१३१२ ईस्वी) को शासनकालमा बौद्ध धर्मको संरक्षण निकै उल्लेखनीय थियो । उनले लुम्बिनी र कपिलवस्तुस्थित अशोक स्तम्भमा “ॐ मणि पद्मे हुँ’’ जस्ता बौद्ध मन्त्र र आफ्नो तथा छोरा संग्राम मल्लको नाम तथा श्री रिपुमल्लचिरंजयतु १२३४ कुँदाएर बौद्ध तीर्थस्थलहरूको महत्व दर्शाएका थिए । यस्तै, सिञ्जाको सेरामा प्राप्त अभिलेखअनुसार रिपु मल्लले ‘लघुरत्नत्रय’ नामक बौद्ध ग्रन्थ लेखेका थिए । उनको शासनकालमा काठमाडौँ उपत्यकाका बौद्ध स्थलहरूमा पनि पूजा र संरक्षणका कार्यहरू भएको इतिहासले पुष्टि गर्छ । खस शासकहरुले आफ्नो साम्राज्यभित्र पर्ने सुर्खेत, दुल्लु र सिंजामा प्रशस्तै बौद्ध स्तुप, चैत्य र मूर्तिहरु बनाएको पाइन्छ ।

यही शताव्दीमा खस राजाहरु जितारी मल्ल र आनन्द मल्लसमेत लुम्बिनी आएको दाबी विभिन्न दस्तावेजहरुमा गरिएका छन् ।

यो माथिको तस्वीरमा देखिएको बुद्ध मूर्ति दैलेखको दुल्लु पादुकास्थानमा रहेको छ । यो १३ औं शताब्दीमा अशोक चल्लको समयमा बनाएको देखिन्छ । यसमा लेखिएको छ ओम् नम बुद्धाय । यो साउना कार्की र साउनी कार्कीद्वारा यो मुर्ति चढाईएको ऐतिहासिक तथ्य छ । यो मूर्ति रहेको स्थानबाट नजिकै कार्की जातीको ठूलो वस्ति पनि रहेको छ । पुरातत्वविद् र ईतिहाकार अनुसार नेपाल मा भेटाईएका बुद्ध मुर्तिमा यति ठूलो र पुरानो बुद्ध मूर्ति कमै छ ।

खसहरूको धार्मिक उदारता
खसहरूको जेनेटिक्स आर्य निकट देखिएपनि उनीहरु वैदिक आर्य नभएको इतिहासकारहरूको दाबी छ । उनीहरूको संस्कृतिमा मष्टो पूजा (प्रकृति पूजा) मुख्य थियो । तर तिब्बती प्रभावले बौद्ध धर्म र पछि हिन्दू धर्मको प्रभाव बढ्यो । खसहरूमा धार्मिक कट्टरता नभएको र सहिष्णुता भएको कारण बौद्ध र हिन्दू दुवै धर्ममा उनीहरूको आस्था बलियो थियो । तिब्बती लामाहरूले खसहरूलाई बौद्ध अनुयायी र कुमाउँ र गढवालका हिन्दूहरूले हिन्दु संस्कार तथा धर्मका अनुयायी मान्थे ।

खस साम्राज्यबाट कसरी बौद्ध धर्म लोप भयो ?
खस साम्राज्यमा बौद्ध धर्मको प्रभाव तीन शताब्दीसम्म बलियो रहे पनि १४औँ शताब्दीपछि यो क्रमशः कमजोर हुँदै गयो । यसका धेरै कारणहरु यस्ता छन् ।

हिन्दू धर्मको प्रभाव र धर्मान्तरणः
१४औँ शताब्दीपछि खस साम्राज्य कमजोर हुँदै गएसँगै हिन्दू धर्मको प्रभाव बढ्न थाल्यो । करिब ५०० वर्षअघि खसहरूले हिन्दू धर्म ग्रहण गरे । काठमाडाँैमा सत्तामा गोरखाको शाहवंशको आधिपत्य भएपछि र राणाहरुको उदयपछि खसहरूलाई क्षत्री वर्णमा रूपान्तरण गरेपछि हिन्दू धर्मको प्रभाव झन् बलियो भयो । शासक वर्गले नै धर्म परिवर्तन गरेपछि प्रजाहरूमा पनि हिन्दूकरण भयो । जसले बौद्ध धर्मलाई विस्थापित ग¥यो ।

राजनीतिक अस्थिरता र साम्राज्यको पतनः
१३९१ ईस्वीपछि खस साम्राज्य बाइसे–चौबिसे राज्यहरूमा टुक्रियो । केन्द्रीय सत्ताको कमजोरी र आन्तरिक संघर्षले धार्मिक संरक्षण कमजोर बनायो । बौद्ध धर्मका विहार र ग्रन्थहरूको संरक्षणमा कमी आयो, जसले विस्तारै बौद्ध प्रभाव घट्दै गयो ।

तिब्बती प्रभावको कमीः खस साम्राज्यको प्रारम्भमा तिब्बतसँगको निकटता र सांस्कृतिक आदान–प्रदानले बौद्ध धर्मलाई बलियो बनाएको थियो । तर, समयसँगै तिब्बतसँगको सम्बन्ध कमजोर हुँदा बौद्ध धर्मको प्रभाव पनि कम भयो ।

दक्षिणको बढ्दो प्रभावः
खस समाजमा तिब्बती प्रभाव कम हुँदै जाँदा त्यही समय दक्षिणको प्रभाव भने झनझन मौलाउँदै गयो । दक्षिणसँग खसहरुको वैवाहिक, व्यापारिक लगायतका सम्बन्धहरु विस्तार हुँदै जाँदा त्यहाँ मौलाइरहेको हिन्दु धर्म र संस्कारको प्रभाव खस भित्र पनि पर्यो । त्यही समय उदाएका शंकराचार्यको प्रभावले भारतीय उपमहाद्विपका धेरै भूभागहरुमा हिन्दुत्वको प्रभाव ब्यापकरुपमा फैलियो । जसको प्रभावमा खस साम्राज्यले पनि बौद्ध धर्म र संस्कार गुमाउन बाध्य बन्यो ।

सांस्कृतिक परिवर्तनः खसहरूको मष्टो संस्कृति र बौद्ध धर्मको मिश्रणले सुरुमा सहिष्णु वातावरण बनाए पनि हिन्दू धर्मको प्रभावले पुराना परम्पराहरू विस्थापित भए । बौद्ध धर्मसँग सम्बन्धित धार्मिक ग्रन्थहरू र अभिलेखहरूको संरक्षणमा कमी आउँदा यो धर्मको प्रभावलाई क्रमशः खस समाजमा लोप नै गरायो । यद्यपी खसहरुमा अझै पनि मस्टो संस्कृतिका रुपमा रहेका धामीझाक्री जस्ता प्रथाहरु भने अझै अस्तित्वमै छन् ।

आजको सान्दर्भिकता र बौद्ध सम्पदाहरुः
जुम्लाको सिञ्जा उपत्यकामा भेटिएका पुरातात्त्विक अवशेषहरू, जस्तै मूर्तिहरू र मन्दिरहरू, खस सभ्यताको गौरवशाली इतिहासको साक्षी हुन् । तर, यी सम्पदाहरूको संरक्षणको कमीले सिञ्जा सभ्यताको महत्व संकटमा परेको पुरातत्वविद तथा ईतिहासवीहरु बताउँछन् । नेपाली भाषाको उद्गमस्थल रहेको सिञ्जा र कर्णालीमा रहेका बौद्ध सम्पदाहरु अहिले सबैभन्दा जटिल अवस्थामा छन् । सयौं वर्ष पुरानो इतिहासका साक्षी यी बौद्ध सम्पदाहरुले अपनत्व गुमाइरहेका छन् । जुन समुदायले ईतिहासको त्यो कालखण्डमा आस्थाको रुपमा त्यति महत्वपूर्ण बौद्ध सम्पदाहरु बनाए, आज त्यो पुरै समुदायले बौद्ध धर्म र संस्कार छोडि सकेका कारण पनि त्यही भूगोलमा बसोबास गने खसहरुका लागि ती बौद्ध सम्पदाप्रतिका लगाव र अपनत्व कमजोर बन्दै गइरहेको छ । यस्तो अवस्थामा त्यस्ता ऐतिहासिक सम्पदाहरु संकटको घडीमा छन् ।

तर त्यति महत्वपूर्ण सम्पदाहरुलाई धार्मिक पर्यटनसँग जोड्दै अहिले त्यहाँ रहेको समाज जस्तो अवस्थामा रहेपनि उनीहरुको दैनिकी र रोजीरोटीसँग यी सम्पदाहरुलाई जोड्न सकिए पक्कै पनि यस्ता ऐतिहासिक धरोहरहरु चिरकालसम्म जिवन्त रहिरहन सक्छन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार