काठमाडौं । मंगलबार बिहान आएको बाढीका कारण करिब २५० मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनबाट विच्छेद भएको छ । नेपाली विद्युत प्राधिकरणका अनुसार मंगलबार भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुबाट उक्त विद्युत विच्छेद भएको हो ।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ । यसैगरी त्रिशूली–३ बी को सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्रिशूली करिडोरको रसुवागढी, त्रिशुलि–३ ए, देवीघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ ।
२४ असारमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारि निर्देशक राजन ढकाल सहित उच्चस्तरीय प्राविधिक टोलीले क्षतिग्रस्त आयोजना निरीक्षण अनुगमन गरेको थियो ।