पानीको स्रोत खोज्दै वीरगन्ज महानगर

पर्सा । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगन्ज महानगरका अगुवाले अमलेखगन्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् ।

वीरगन्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगन्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगन्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरेका हुन् ।

वीरगन्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनः भरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्नका लागि अमलेखगन्ज आएको बताए । ‘अमलेखगन्जमा भावर क्षेत्रको भूसतहमा पानीको संरक्षण गर्दै पानी उपयोग गर्दै आइरहेको कुरा थाहा पाएर आज यहाँ स्थलगत निरीक्षण गर्न आएका हौँ’, उनले भने, ‘अमलेखगन्जको जस्तै प्रविधि अपनाएर वीरगन्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला ।’

प्रमुख सिंहले वीरगन्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्नका लागि थप सहयोगी हुने अपेक्षा राखेको बताए । ‘अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,’ उनले भने, ‘वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।’

अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताए । ‘पहिला यहाँ पनि खानेपानीको चर्को अभाव थियो । पानीकै लागि यहाँका जनता भौँतारिँदै आइरहनुभएको थियो’, उनले भने, ‘पानीको सतहभन्दा करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर पाइप लाइनमार्फत अमलेखगन्जस्थित ट्याङ्कीमा पानी राखेर यहाँका आठ सय २७ घरपरिवारलाई खानेपानी वितरण गर्दै आइरहेको बताए ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इन्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवद्र्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताए ।
‘भावर क्षेत्रमा रहेका पानीको सतहलाई विभिन्न खालका पोखरी तथा पानी संरक्षणको काम गरेर पानीको सतहलाई वृद्धि गर्न सकिन्छ’, उनले भने, ‘अमलेखगन्जमा पनि भावर क्षेत्रमा पानीको संरक्षण गरेर अहिले बाह्र्रैमास खानेपानीको उपलब्धता भइरहेको छ’, उनले भने, ‘पर्साको भेडाहा खोलाको भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर सो पानी वीरगन्ज आसपासका क्षेत्रमा वितरण गर्न सकिने छ । त्यसका लागि विभिन्न खालका पोखरी तथा पानी सङ्कलन हुने वातावरण तयार पार्न जरुरी छ ।’

इन्जिनियर सिन्हाले अमलेखगन्जको असल अभ्यासलाई पर्सामा पनि अनुसरण गर्न सकिने बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगन्ज महानगरको प्राविधिकसहितको टोलीले बिहीबार नै वीरगन्ज महानगर–३१ वेल्बासहित भेडाहा खोलामा पुगेर पानीको स्रोत संरक्षण गर्न सकिने स्थानको पनि स्थलगत निरीक्षण गरेको थियो ।
समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगन्ज आसपासको पानीको भूसतह वृद्धि गर्न सकिने बताए । ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगन्जको देखिएको खानेपानीको अभावलाई परिपूर्ति गर्न विभिन्न खालका स्रोतहरूको खोजी कार्यअन्तर्गत दुई ठाउँमा स्थलगत निरीक्षणमा गएको बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार