काठमाडौं । आर्सनल सन् २०२० पछि पहिलो ठूलो उपाधि जित्ने लक्ष्यतर्फ अर्को एक कदम अघि बढेको छ। चेल्सीलाई पराजित गर्दै आर्सनल इएफएल ( लिग कप) को फाइनलमा पुगेको छ। सेमिफाइनलमा समग्रमा ४-२ को जित निकाल्दै आर्सनलले फाइनल यात्रा तय गर्यो।
पहिलो लेगमा ३-२ को अग्रता लिएको आर्सनलले एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा निकै संघर्षपूर्ण खेल खेलेको थियो। खेलको इन्जुरी समयको सातौं मिनेटमा मात्रै आर्सनलले निर्णायक गोल गर्न सफल भयो। परिवर्तित खेलाडी काइ हाभेर्त्जले गोलकिपर रोबर्ट सान्चेजलाई छलाउँदै गोल गरेर टोलीलाई जित दिलाए।
प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनल थप तीनवटा कप प्रतियोगिताको उपाधि दौडमा कायम छ। आर्सनलले अर्को महिना वेम्बलीमा हुने लिग कपको फाइनलमा म्यानचेस्टर सिटी वा न्युक्यासल युनाइटेडसँग खेल्नेछ। खेलको सुरुआतमा आर्सनल दबाबमा देखिए पनि चेल्सीले ५ डिफेन्डरसहित रक्षात्मक रणनीति अपनाउँदा पहिलो हाफमा अवसर कमै बनेको थियो।
चेल्सीका प्रशिक्षक लियाम रोजेनिओरले खेलको ६०औँ मिनेटमा एस्टेभाओ र कोल पाल्मरलाई मैदानमा उतारेर आक्रमण बलियो बनाउने प्रयास गरे । तर आर्सनलले खेल नियन्त्रणमा राख्न सफल भयो। इन्जुरीबाट भर्खरै फर्किएका हाभेर्त्जले अन्तिम क्षणमा गोल गर्दै आर्सनलको समग्र जित पक्का गरे। आर्सनलले अन्तिम पटक २०१८ मा लिग कपको फाइनल खेलेको थियो । पछिल्लो ठूलो उपाधि उसले एफए कपमा चेल्सीलाई हराउँदै जितेको थियो।