काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको १८ औँ वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुँदैछ ।
बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ ।
साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने छ । त्यस्तै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ । साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १४ गते एक दिनका लागि बूक क्लोज (सेयर दाखिल खारेज) गरिसकेको छ । बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।