
ताइझोउ । चीनमा एकै हप्ताभित्र दोस्रो शक्तिशाली आँधी (टाइफुन) भित्रिएको छ। ‘बाभी’ नाम दिइएको उक्त आँधीको जोखिमका कारण संकटग्रस्त क्षेत्रबाट झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
फ्रान्सको चौडाइजत्रो अर्थात् आफ्नो सबैभन्दा फराकिलो भागमा १,००० किलोमिटर क्षेत्र ओगटेको यो आँधी शनिबार साँझ तटीय सहर ताइझोउमा ठोक्किएको थियो। त्यसपछि मध्यराततिर यसले वेन्झोउमा दोस्रो पटक अवतरण गरेको थियो।
जापानका विकट टापुहरूमा विनाश मच्चाएपछि यो आँधी ताइवानको उत्तरी छेउ हुँदै अघि बढेको थियो, जसका कारण ताइवानमा भारी वर्षा भएको थियो। यसअघि यही आँधीका कारण फिलिपिन्समा पहिरो जाँदा कम्तीमा १७ जनाको मृत्यु भइसकेको छ। हाल यो आँधी कमजोर भएर तीव्र उष्णकटिबंधीय आँधीमा परिणत भए पनि यसको वर्षाको घेराभित्र अत्यधिक ओस रहेका कारण अझै पनि जोखिम कायमै छ।
उत्तर-पश्चिमतर्फ अघि बढ्दै जाँदा यसको तीव्रता बिस्तारै कम हुने अनुमान गरिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार बिहान आँधीको केन्द्र जेजियाङ प्रान्तको हाङ्झोउ सहरमा पुगेको थियो। मौसमविद्हरूका अनुसार यो आँधी सोमबार पूर्वी अनहुई र मंगलबार सान्दोङ प्रायद्वीपबाट उत्तरी यलो सीतर्फ लाग्ने छ।
आँधीका कारण जेजियाङ प्रान्तमा १७ लाखभन्दा बढी र छिमेकी प्रान्तहरूमा हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। जेजियाङमा विद्यालय, कामकाज र बाहिरी गतिविधिहरू बन्द गरिएका छन् भने ४०० उडान र दर्जनौँ रेल सेवा रद्द भएका छन्।
करिब १ करोड जनसङ्ख्या भएको वेन्झोउ सहर आँधीको मार्ग नजिकै रहेकाले त्यहाँका लाखौँ बासिन्दालाई पनि स्थानान्तरण गरिएको छ। बेइजिङले जोखिमबाट बच्नका लागि १ लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको थियो।
‘बाभी’ सुरुमा शक्तिशाली सुपर टाइफुनका रूपमा देखा परेको थियो, जसले गत सोमबार २९० किलोमिटर प्रतिघण्टाको गतिको हावासहित गुआम र उत्तरी मारियाना टापुमा प्रहार गरेको थियो। प्रशान्त महासागर हुँदै अघि बढ्ने क्रममा यसको गति १४४ किलोमिटर प्रतिघण्टामा कमजोर भएको थियो।
त्यसपछि यसले जापानको मुख्य टापु र ताइवानको बिचमा रहेको र्युसक्यु टापु शृङ्खलाको साकिसिमा टापुमा प्रहार गरेको थियो, जहाँ कम्तीमा पाँच जना घाइते भए र हजारौँ मानिस बिजुलीविहीन बने।
ताइवानमा यसले प्रत्यक्ष प्रहार नगरे पनि भारी वर्षापछि पहिरोको जोखिम बढेका कारण हजारौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए। यी दुवै देशमा हालसम्म कसैको पनि मृत्यु भएको खबर छैन।
ताइवानका अधिकारीहरूले ‘बाभी’ ले १ मिटरसम्म वर्षा ल्याउन सक्ने चेतावनी दिएका थिए। यस क्षेत्रभरि दर्जनौँ उडानहरू रद्द भएका छन् भने विद्यालयहरूले कक्षाहरू स्थगित गरेका छन्। बासिन्दाहरूले खाद्यान्न र आवश्यक सामग्रीहरू भण्डारण गर्न थालेपछि सुपरमार्केटका तखताहरू रित्तिएका छन्।
दक्षिण चीनका केही भागहरू यसै हप्ताको सुरुमा आएको ‘मायसाक’ आँधीको विनाशबाट अझै तङ्ग्रिन सकेका छैनन्। ‘मायसाक’ का कारण कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने ठुलो सङ्ख्यामा चौपाया मरेका कारण कृषि क्षेत्रमा ठुलो क्षति पुगेको थियो। यसले केन्द्रीय हुबेई प्रान्तमा दुईवटा दुर्लभ घुम्रपात (टर्नेडो) समेत निम्त्याएको थियो।












समाचार
बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पुरोहितहरुलाई कर्मकाण्ड कक्षा
अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह
म्याककलम इंग्ल्यान्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
हरित आयले बदलेको महिलाको दैनिकी
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह