
गुल्मी । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर कफीखेतीमा आकर्षित हुन थालेका छन् । मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यतिबेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पदान गर्न थालेका हुन् । तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई व्यावसायिक रूपमा कफीखेतीप्रति आकर्षित गराउन तालिकसहित कफीको उत्पादन र यसको महत्वबारे जानकारी दिनाका साथै कफीखेती गर्न चाहनेलाई अनुदान उपलब्ध गराएपछि कृषकले परम्परागत खेती छोडेर यसतर्फ आकर्षित भएका सिर्सेनीका कृषक मेघलाल अर्यालले बताए ।
मकै र कोदोजस्ता परम्परागत खेती गर्दै आएका कृषकलाई कफीखेती तुलनात्मक रूपमा सहज भएको उनको भनाइ छ । यहाँका किसानले ‘तीनधारे कफी उत्पादन कृषक समूह’ मार्फत खेती सुरु गरेका अर्यालले बताए । उनका अनुसार चार वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्यक परिवारले व्यावसायिक रूपमा उत्पादन सुरु गरेका हुन् । यहाँका कृषकको बगैँचामा ५० देखि दुई हजारसम्म कफीका बोटहरू रहेका अर्यालले जानकारी दिए । चार वर्षअघि रोपेका बोटहरूले फल दिन सुरु गरेपछि कृषक पनि उत्साहित बनेका छन् । सिर्सेनीमा सबैभन्दा बढी कफीखेती गर्ने कृषकका रूपमा अर्याल चिनिछन् ।
दश रोपनी जग्गामा यतिबेला दुई हजार बढी बोट रहेका कृषक अर्यालले जानकारी दिए । ‘चाँडै हुर्किएका बोटहरूबाट कफी पाक्न थालेको छ । विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले कफीले ढपक्क ढाकेको छ’, उनले भने । उनी जस्तै व्यावसायिक कफीखेती सुरु गरेका शशीधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले खेतीले आशा जगाएको बताए । जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजाली उपलब्ध गराइएको जानकारी दिए । परियोजनाले खेती सुरु गर्नुपूर्व गाउँमा ‘कफी पाठशाला’ सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिएको उनले बताए ।
परियोजना प्रमुख पोख्रेलले जिल्लामा कफीखेतीमा कृषकहरूको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी, डढुवालगायत सङ्क्रमणले बोटमा क्षति पुर्याउने गरेको उल्लेख गरे । समयमा ती सङ्क्रमणका कारण लाग्ने रोगको पहिचान गरी समाधान गर्न सकेमा जिल्लामा व्यावसायिक रूपमा कफीखेती गर्ने कृषकको संख्यामा थप हुँदै जाने जिल्ला समन्वय समितिका प्रमुख दोर्णबहादुर खत्रीले बताए । कफी उत्पतिको जननी मानिने गुल्मीमा अहिले २४१ हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती गरिँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा उत्पादन हुने कफी जापान, कोरियालगायत मुलुकमा निर्यात हुने गर्दछ । पछिल्लो समयमा ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले कृषकलाई व्यावसायिक कफीखेतीका लागि अनुदानका साथै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।











समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू