प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो। करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनले विपद्का बेला राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम संकलन गर्ने निर्णय गरेको थियो।

अधिकारीले सदस्य विद्यालयहरूले नियमित सञ्चालन खर्च, शिक्षक तथा कर्मचारीको दायित्व र राज्यलाई बुझाउनुपर्ने कर व्यवस्थापन गर्दै उत्साहपूर्वक सहयोग गरेको बताए। अपेक्षा गरिएभन्दा बढी रकम संकलन भएको भन्दै उनले सहयोगको विवरण पारदर्शी बनाइएको जानकारी दिए।

प्याब्सनले संकलित सहयोगको विवरण सम्बन्धित जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाइएको र समग्र विवरण सरकारलाई समेत उपलब्ध गराइने जनाएको छ। सहयोग गर्ने विद्यालय तथा संस्थालाई सरकारसँगको सहकार्यमा योगदानको कदरस्वरूप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने अधिकारीले बताए।

प्याब्सनका महासचिव आरबी कटुवालले बाढीबाट प्रभावित आफ्ना सदस्य विद्यालयको पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार रसुवा र नुवाकोटका पाँच सदस्य विद्यालय बाढीबाट गम्भीर रूपमा प्रभावित भएकाले ती विद्यालयको पुनःस्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।

भदौ ३१ गते राति १२ बजेसम्म संकलन हुने थप सहयोग रकममध्ये उक्त २ करोड रुपैयाँ छुट्याएपछि बाँकी सबै रकम नेपाल सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिने कटुवालले जानकारी दिए।

प्याब्सनले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्थामात्र नभई विपद्का समयमा राष्ट्रसँगै उभिने जिम्मेवार साझेदार भएको जनाएको छ। अध्यक्ष अधिकारीले देशभरका निजी विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीबाट प्राप्त सहयोग राष्ट्रप्रतिको माया, एकता र सामाजिक उत्तरदायित्वको प्रतीक भएको बताए।

प्याब्सनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आगामी दिनमा पनि सरकार र नेपाली जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट