
तुलसीपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ ।
सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव २०७९/८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०/८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताए । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड–१० सहित अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ । यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छभने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ ।
मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताए।
दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख–जेठमा, हिउँदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ । विभिन्न बालीको विशिष्टिकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यावसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा आर्थिक वर्ष २०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो । सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ ।
‘यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने र किसानको बुझाई मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो’, सूचना अधिकारी कँडेलले भने, सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो ।’
अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भई सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन