
स्याङ्जा । स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ।
वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए। धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए।
“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” सञ्चालक पाठकले भने “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, मागअनुसार बजारमा पुर्याउन सकेका छैनौँ।” हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए।
“खुर्सानी प्रतिकिलो रु २२० का दरले बिक्री भइरहेको छ,” उनले भने, “यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ। बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ।” पहिलो पटक व्यावसायिक रूपमा खुर्सानी उत्पादन गरिएकाले आगामी दिनमा खेतीको क्षेत्र विस्तार गर्दै लैजाने तयारी गरिएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर) ले कृषि प्राविधिक, मल्चिङ प्लास्टिक, मल तथा सुकाउने मेसिन उपलब्ध गराएको छ।
“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ। कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” उनले भने, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ।”
हालसम्म करिब रु सात लाखको खुर्सानी बिक्री भइसकेको छ। फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ। उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु फार्मकै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गरिदिने गरिएकाले व्यापारी तथा उपभोक्तालाई सहज भएको छ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना