बौद्ध धर्ममा ल्हाबाब दुछेन : बुद्ध स्वर्गबाट धर्तीमा फर्किएको पवित्र दिन

ल्हाबाब दुछेन बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण धार्मिक पर्व हो। विशेषगरी तिब्बती बौद्ध परम्परामा श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व भगवान् गौतम बुद्ध स्वर्गबाट पुनः पृथ्वीमा अवतरण गरेको स्मृतिमा मनाइन्छ । तिब्बती भाषामा ‘ल्हाबाब’ को अर्थ स्वर्गबाट अवतरण र ‘दुछेन’ को अर्थ महान् अवसर वा महान् पर्व भन्ने हुन्छ । त्यसैले ल्हाबाब दुछेनलाई स्वर्गबाट बुद्धको अवतरण भएको महान् दिनका रूपमा लिइन्छ ।

बौद्ध परम्पराअनुसार भगवान् बुद्धले आफ्नी माता महामाया देवीलाई धर्मको उपदेश दिन त्रायस्त्रिंश (तावतिंस) स्वर्गमा गएका थिए । बुद्ध जन्मिएको सात दिनपछि उनकी माता महामाया देवीको निधन भएको र कर्मअनुसार उनको पुनर्जन्म स्वर्गलोकमा भएको धार्मिक मान्यता छ । मातृऋणबाट मुक्त हुने र मातालाई धर्मको मार्ग देखाउने उद्देश्यले बुद्ध स्वर्ग पुगेको बौद्ध ग्रन्थ तथा परम्परामा उल्लेख छ ।

तीन महिनासम्म स्वर्गलोकमा रहेर माता र देवताहरूलाई धर्मदेशना दिएपछि बुद्ध पृथ्वीमा फर्किएको विश्वास गरिन्छ । बुद्ध स्वर्गबाट पृथ्वीमा अवतरण गरेको दिनलाई नै ल्हाबाब दुछेनका रूपमा स्मरण गरिन्छ । बौद्ध परम्परामा बुद्ध स्वर्गबाट सुन, चाँदी र मणिजडित तीनवटा भ¥याङमार्फत पृथ्वीमा अवतरण गरेको धार्मिक चित्रणसमेत पाइन्छ ।

तिब्बती बौद्ध पात्रोअनुसार प्रत्येक वर्ष नवौँ महिनाको २२औँ दिन ल्हाबाब दुछेन मनाइन्छ । यो पर्व बौद्ध धर्मका चार प्रमुख पवित्र दिवस अर्थात् ‘चार दुछेन’ मध्ये एक हो । अन्य तीन प्रमुख दिवसमा छ्योत्रुल दुछेन, सागा दावा दुछेन र छोखोर दुछेन पर्दछन् । ल्हाबाब दुछेनलाई पुण्य सञ्चय, आत्मशुद्धि र करुणा अभ्यासका दृष्टिले विशेष महत्वपूर्ण दिन मानिन्छ । यस दिन गरिएका सकारात्मक तथा नकारात्मक कर्मको फल सामान्य दिनको तुलनामा धेरै गुणा बढ्ने धार्मिक विश्वास छ । विभिन्न बौद्ध परम्परामा पुण्यको फल करोडौँ गुणा वृद्धि हुने मान्यता पनि प्रचलित छ ।

यस अवसरमा बौद्ध धर्मावलम्बीहरूले गुम्बा तथा विहारमा पुगेर पूजा, पाठ, ध्यान, मन्त्रजप र दीप प्रज्वलन गर्छन्। भगवान् बुद्धका उपदेशहरूको वाचन गर्नुका साथै संघलाई दान, गरिब तथा असहायलाई सहयोग, जीवजन्तुको रक्षा र प्राणीमात्रको हितका लागि प्रार्थना गर्ने चलन छ । विशेषगरी हिमाली बौद्ध धर्मावलम्बीहरूले यस दिनलाई माता–पिताप्रतिको कृतज्ञता, गुरुहरूप्रतिको सम्मान र समस्त प्राणीप्रति करुणाभाव अभिव्यक्त गर्ने अवसरका रूपमा लिन्छन् ।

त्यसैले ल्हाबाब दुछेन बुद्धको स्वर्गबाट पृथ्वीमा अवतरणको ऐतिहासिक तथा धार्मिक स्मरणसँगै मातृऋण, करुणा, परोपकार र धर्मको महत्व उजागर गर्ने बौद्ध धर्मको महत्वपूर्ण पर्वका रूपमा स्थापित छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर