दशैँले खाली हुँदै काठमाडौं, पाँच लाखभन्दा बढीले छाडे उपत्यका

सधैँ मानिसहरूको भीड, सवारीसाधनको चाप र ट्राफिक जामले व्यस्त रहने काठमाडौं उपत्यकाको दैनिकी यतिबेला फेरिएको छ । दशैँको नवौँ दिनसम्म आइपुग्दा राजधानीका सडकमा सवारीसाधनको चाप घटेको छ भने बजार र सार्वजनिक स्थलमा पनि मानिसहरूको उपस्थिति पातलिएको छ ।

अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि काठमाडौंमा बसोबास गर्दै आएका नागरिकहरू परिवारसँग दशैँ मनाउन गाउँ फर्किएपछि सहरको चहलपहल घटेको हो । नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, चाबहिल, रत्नपार्क र कलंकीजस्ता व्यस्त क्षेत्रमा अहिले विगतको तुलनामा सवारी आवागमन निकै कम देखिन्छ । दैनिक लामो जाममा बिताउनुपर्ने सडकमा अहिले सहजै आवतजावत गर्न सकिने अवस्था बनेको छ ।

घटस्थापनादेखि नै उपत्यकाका प्रमुख नाकाबाट बाहिरिने यात्रुको चाप बढेको थियो । थानकोट, जगाती, टोखा र दक्षिणकाली हुँदै यात्रुहरू विभिन्न जिल्लातर्फ लागेका छन् । बसपार्कहरूमा देखिएको यात्रुको चापले दशैँमा घर फर्किने नेपालीको उत्साह र पारिवारिक भेटघाटको महत्वलाई पनि झल्काएको छ ।

केही व्यापारिक क्षेत्र, होटल तथा रेस्टुरेन्ट सञ्चालनमै छन् । विशेषगरी बौद्ध क्षेत्र आसपास भने मानिसहरूको चहलपहल अझै देख्न सकिन्छ । सार्वजनिक बिदा र अधिकांश कार्यालय बन्द हुँदा सहरको नियमित व्यस्तता भने उल्लेख्य रूपमा घटेको छ ।

उता, राजधानीका घर तथा बस्ती खाली हुन थालेपछि प्रहरीले सुरक्षा निगरानी बढाएको छ । चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न संवेदनशील क्षेत्रहरूमा गस्ती तीव्र पारिएको छ । घर छाडेर बाहिरिने नागरिकलाई ढोका–झ्याल सुरक्षित राख्न र शंकास्पद गतिविधि देखिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार घटस्थापनादेखि सोमबारसम्म सार्वजनिक यातायातमार्फत पाँच लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । निजी सवारीसाधन र हवाई यात्रामार्फत बाहिरिनेहरूलाई समेत जोड्दा राजधानी छाड्नेको कुल संख्या १० लाखभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ । पूर्वाधार विकास समितिको अध्ययनले यस वर्ष दशैँमा सार्वजनिक यातायातबाट मात्रै ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रु बाहिरिने अनुमान गरेको थियो । दशैँको टीका र बिदा सकिएपछि उपत्यकामा फर्किनेको चाप बढ्दै पून पुरानै लयमा उपत्यका फर्किन्छ ।  तस्बिर : नेपाल फोटो सर्भिस (NPS

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट