रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो

रोजगारीका लागि लाखौँ रुपैयाँ खर्च गरेर युरोपको रोमानिया पुगेका नेपाली श्रमिक रोजगारदाता कम्पनीको शोषणमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिक काम, पारिश्रमिक र सम्झौताअनुसारको सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

शनिबारदेखि आन्दोलन सुरु गरेका श्रमिक कम्पनीबाहिर भेला भएर ‘वी वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन् । नेपालबाट रोमानिया पुग्न प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको उनीहरूको भनाइ छ । तर महिनामा मुस्किलले दुई–तीन दिन मात्रै काम पाउने र बाँकी दिन बेरोजगार बस्नुपर्ने अवस्था रहेको श्रमिकले गुनासो गरेका छन् ।

नेपालबाट जाने बेला मासिक २ हजार ६ सय ९९ रोमानियन ल्यु तलब दिने सम्झौता भए पनि काम र पारिश्रमिक सम्झौताअनुसार नपाएको तथा आवास खर्चसमेत कटौती हुन थालेको उनीहरूको आरोप छ ।

यता रोमानियास्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष सुरेन्द्र गौतम भने आर्थिक गतिविधि सुस्ताउँदा र जाडोका कारण काम घटेको बताउँछन् । उनका अनुसार तलब नै नदिएको भन्दा कामको अवधि घट्नु र आवास खर्च कटौतीले श्रमिकको हातमा पर्ने रकम कम भएको हो ।

रोमानियामा ७५ देखि ८० हजार नेपाली रहेको अनुमान छ । तर समस्यामा पर्दा प्रभावकारी कूटनीतिक सहयोग नपाएको उनीहरुको गुनासो छ । श्रमिकले तत्काल समस्या समाधानका लागि श्रम तथा परराष्ट्र मन्त्रालयसँग पहल गर्न माग गरेका छन् । सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या बढ्दै जाँदा वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा र अधिकारमाथि गम्भीर प्रश्न उठेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट