
प्रधानमन्त्री बनेपछि पहिलो विदेश राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहको दिल्ली बसाइ जम्मा २५ घण्टाको हुनेछ । आइतबारदेखि सुरु भएको दुईदिने भ्रमणमा प्रधानमन्त्री शाह भेटघाट, व्यावसायिक अन्तरक्रिया र उच्चस्तरीय द्विपक्षीय वार्तामा व्यस्त रहनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल–भारत आर्थिक सम्बन्ध विस्तार र नयाँ सहकार्यका अवसर पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं हुँदै दिल्ली प्रस्थान गरेका थिए । स्थानीय समयअनुसार दिउँसो ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । विमानस्थलबाट उनी सिधै होटल ताज मानसिंह पुगेका छन् ।
भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । त्यसपछि नेपाली र भारतीय उद्योगी व्यवसायीबीच आयोजित विशेष अन्तरक्रियामा सहभागी हुँदै नेपालमा भारतीय लगानी आकर्षित गर्न सरकारले अघि सारेका नीतिगत प्रयासबारे सम्बोधन गर्नेछन् । नेपाल–भारत बिजनेस फोरममार्फत दुई देशका निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने कार्यक्रम पनि छ ।
भ्रमणको मुख्य आकर्षण भने सोमबार हुने उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तार मुख्य प्राथमिकतामा रहनेछन् । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ । ऊर्जा सहकार्य, सीमा पूर्वाधार र जनकपुर–अयोध्या रेल सेवासहित विभिन्न परियोजनाको संयुक्त उद्घाटन तथा शिलान्यास गर्ने कार्यक्रमसमेत छ ।
दिउँसो १२ः२५ बजे दुवै प्रधानमन्त्रीको उपस्थितिमा समझदारीपत्र आदानप्रदान, संयुक्त पत्रकार सम्मेलन र परियोजनासम्बन्धी कार्यक्रम हुनेछ । त्यसपछि मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ । विगतका प्रधानमन्त्रीका भ्रमणभन्दा यसपटकको कार्यसूची केही फरक छ । दिल्लीबाहिरका सहरको भ्रमण र नेपाली दूतावास जाने कार्यक्रमसमेत राखिएको छैन । छोटो समयको यो भ्रमणमा प्रधानमन्त्री शाहले राजनीतिक औपचारिकताभन्दा आर्थिक सहकार्य, लगानी र कार्यान्वयनयोग्य परियोजनालाई प्राथमिकता दिएका छन् ।











समाचार
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै