जलवायु संकटको चपेटामा नेपालका हिमाल, प्रकृति र मानव जीवन !

विश्व जलवायु संकटको असर अब विश्वव्यापी समस्या बनिसकेको छ । यसको प्रभाव नेपालका हिमालदेखि पहाड र तराईसम्म देखिन थालेको छ । कोप–३१ को उद्घाटनसँगै सार्वजनिक विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) को प्रतिवेदनले पृथ्वीको जलवायु अवस्था गम्भीर सीमामा पुगेको चेतावनी दिएको छ । सन् २०२६ पनि अहिलेसम्मकै चार सबैभन्दा ताता वर्षमध्ये एक बन्ने आकलनले संकटको गहिराइ उजागर गरेको छ ।

जलवायु परिवर्तनको सबैभन्दा संवेदनशील क्षेत्रमा पर्ने नेपालका लागि यो चेतावनी झन् गम्भीर छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै हिमालयका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् । हिमालमा हिउँको मात्रा घट्नु, हिमताल विस्तार हुनु र हिमताल विस्फोटजन्य बाढीको जोखिम बढ्नुले हिमाली जनजीवन, बस्ती र पूर्वाधारलाई जोखिममा पारेको छ । हिमालको बरफ पग्लिँदा नदीको बहाव, खानेपानी, सिँचाइ र जलविद्युत् उत्पादनसमेत प्रभावित हुने खतरा छ । विनाशकारी रसुवा बाढी यसैको पछिल्लो उद्धाहरण हो ।

हिमालयका अग्ला शिखरमा बरफले चट्टानलाई जोडेर राख्ने प्राकृतिक गमको काम गर्छ । तापक्रम वृद्धिसँगै बरफ कमजोर हुँदा पहिरो, हिमपहिरो र चट्टान खस्ने घटना बढ्न सक्छन् । नेपाल–चीन सीमावर्ती क्षेत्रमा भएको चट्टान र हिमबरफसहितको विनाशकारी पहिरोले पनि हिमाली क्षेत्रको जोखिम उजागर गरेको छ । यसको असर हिमालमा मात्रै सीमित छैन । अनियमित मनसुन, अतिवृष्टि, बाढी, पहिरो, खडेरी र डढेलोले नेपालको कृषि, जैविक विविधता, पर्यटन र जनजीविकामा चुनौती थपिरहेका छन् ।

विश्वभर हरितगृह ग्यासको मात्रा बढिरहँदा सन् २०२५ मा कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा अभिलेखकै उच्च विन्दुमा पुगेको प्रतिवेदनले देखाएको छ । समुद्री सतह र तापक्रमसमेत नयाँ रेकर्डमा पुग्नुले पृथ्वीको प्राकृतिक सन्तुलन खलबलिएको संकेत गर्छ ।

यस्तो अवस्थामा नेपालले जलवायु अनुकूलन, हिमतालको निगरानी, विपद् पूर्वसूचना प्रणाली र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिनुपर्छ । अर्कोतर्फ, जलवायु संकट सिर्जना गर्न बढी जिम्मेवार विकसित राष्ट्रबाट क्षतिपूर्ति र पर्याप्त वित्तीय सहयोगका लागि कूटनीतिक दबाब बढाउनुपर्छ । नेपालको हिमाल विश्वको प्राकृतिक सम्पदा हो । हिमाल रहे मात्रै हिमाली सभ्यता, नदी प्रणाली र करोडौँ मानिसको भविष्य सुरक्षित रहन्छ । त्यसैले जलवायु संकट नेपालको वातावरणीय मुद्दा मात्रै होइन, राष्ट्रिय अस्तित्व र भावी पुस्ताको भविष्यसँग जोडिएको प्रश्न हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट