सिन्धुपाल्चोक शेर्पा समाज सेवाको मणि बुम तथा ञुङ्ने (मौन व्रत) धार्मिक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा सञ्चालन भएको मणि बुम तथा ञुङ्ने (मौन व्रत) धार्मिक कार्यक्रम बुधबार सम्पन्न भएको छ । काठमाडौंको सुन्दरटोलस्थित समाजको आफ्नै भवन (गुम्बा) मा आयोजित कार्यक्रममा बौद्ध धार्मिक विधिअनुसार पूजा तथा अनुष्ठान गर्दै सम्पूर्ण प्राणीको सुख, शान्ति र कल्याणको कामना गरिएको थियो ।

दशैंका अवसरमा पशुपन्छीको वध गर्ने प्रचलनको सट्टा अहिंसा, करुणा र प्राणीहितको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा रसुवा–भोटेकोशी क्षेत्रको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामनासमेत गरिएको थियो ।

श्रद्धेय टुल्कु ग ल्हखाङ रिन्पोछे तथा धर्मगुरु डा. टशी छिरिङ (एचबी लामा) को उपस्थितिमा सम्पन्न कार्यक्रममा मणि बुम पूजा तथा ञुङ्ने (मौन व्रत) सम्बन्धी धार्मिक अनुष्ठान गरिएको थियो ।

कार्यक्रमका पुण्यदाताका रूपमा जुगल गाउँपालिका–२, गोल्चेका रेशम स्याङ्बो र आनन्दी कुमारी बोम्जन रहेका थिए । कार्यक्रमको समापनका अवसरमा श्रद्धेय टुल्कु ग ल्हखाङ रिन्पोछेले व्रतालु तथा उपस्थित श्रद्धालुहरूलाई छेवाङ (आयु अभिषेक) प्रदान गरेका थिए ।

बौद्ध परम्परामा ञुङ्ने व्रतलाई शारीरिक, वाचिक तथा मानसिक संयम, करुणा र आध्यात्मिक साधनासँग जोडेर हेरिन्छ । मणि बुम तथा ञुङ्ने जस्ता धार्मिक अनुष्ठानले साधकहरूमा करुणा, अहिंसा र सम्पूर्ण प्राणीप्रतिको मैत्रीभाव अभिवृद्धि गर्ने विश्वास गरिन्छ ।

समाजका अध्यक्ष बहादुर शेर्पाका अनुसार संस्थाले वर्षभरि विभिन्न धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै बौद्ध परम्परा, करुणा र अहिंसाको सन्देश समुदायमा प्रवाह गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट