
दशैँको सातौँ दिन फूलपाती, घटस्थापनाबाट सुरु भएको नवरात्रले यही दिनदेखि विशेष उल्लास र रौनक पाउँछ । घरघरमा फूलपाती भित्र्याउनेदखि राजधानी काठमाडौँको हनुमानढोका दरबारमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परासम्मले नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतलाई जीवन्त बनाउँछन् । फूलपाती फूल र पातको गुच्छामा मात्रै सीमित छैन । देवी दुर्गाको आराधना, प्रकृतिप्रतिको सम्मान र सुख, शान्ति तथा समृद्धिको कामनासँग पनि जोडिएको छ ।
धार्मिक मान्यताअनुसार फूलपातीमा केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्तीलगायत नौ प्रकारका वनस्पति समावेश गरिन्छ । नवपत्रिका भनिने यी वनस्पतिमा नौ दुर्गाको प्रतीकात्मक उपस्थिति रहेको विश्वास गरिन्छ । फूलपाती भित्र्याएर पूजा गर्नाले घरमा सुख, समृद्धि र सकारात्मक ऊर्जा प्रवेश गर्ने जनविश्वास छ ।
गोरखादेखि हनुमानढोकासम्मको ऐतिहासिक यात्रा
फूलपातीको सबैभन्दा चर्चित परम्परामध्ये एक हो गोरखा दरबारबाट काठमाडौंको हनुमानढोका दरबारसम्म फूलपाती ल्याउने चलन । पृथ्वीनारायण शाहले काठमाडौं विजय गरी राजधानीबाट शासन सञ्चालन गर्न थालेपछि गोरखाको दशैँघरबाट फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा सुरु भएको हो । यसले गोरखा र काठमाडौंबीचको ऐतिहासिक सम्बन्धलाई हरेक वर्षको फूलपातीमा स्मरण गराउँदै आएको छ ।
गोरखा दरबारमा विधिपूर्वक तयार पारिएको फूलपाती परम्परागत रूपमा डोलीमा राखेर काठमाडौं पठाइन्छ । पहिले पैदलमार्गबाट बोकेर ल्याइने फूलपाती अहिले सडक यातायातको सुविधासँगै सवारीसाधनबाट पनि ल्याइन्छ ।
काठमाडौंको जमलबाट फूलपातीलाई बाजागाजा, नेपाली सेनाको ब्याण्ड, गुर्जुको पल्टन र सांस्कृतिक झाँकीसहित हनुमानढोका पु¥याउने परम्परा छ । टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहले पनि यस दिनको महत्त्व थप उजागर गर्छ ।
देशभरका फूलपाती भित्र्याउने परम्परा
गोरखा र हनुमानढोकाको परम्परा राष्ट्रियस्तरमा चर्चित भए पनि फूलपातीको रौनक देशका विभिन्न भूभागमा फरकफरक रूपमा रहेको छ । काठमाडौं उपत्यकाका पुराना दरबार तथा शक्तिपीठहरूमा विशेष पूजा गरिन्छ । गोरखा दरबारमा फूलपाती तयार पार्ने र बिदाइ गर्ने विधि महत्त्वपूर्ण मानिन्छ भने गाउँघरमा किसानले धानका बाला भित्र्याएर अन्नबालीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा नवपत्रिका भित्र्याउने विधि सप्तमीको सट्टा अष्टमीमा पनि गरिन्छ ।
यसरी फूलपातीले धार्मिक आस्था, कृषि संस्कृति, प्रकृतिसँगको सम्बन्ध र राष्ट्रिय इतिहासलाई एउटै सूत्रमा जोड्छ । टीका र जमराको प्रतीक्षामा रहेका नेपालीका लागि फूलपाती एउटा तिथि मात्रै होइन । घर फर्कने, परिवारसँग भेटघाट गर्ने र दसैँको आत्मीयता अनुभव गर्ने भावनात्मक क्षण पनि हो । यही कारण फूलपाती हिन्दु धर्मावलम्वी नेपालीको सांस्कृतिक स्मृति र सामूहिक उत्सवको अभिन्न हिस्सा बनेको छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम