दशैँ मनाउन गाउँ फर्किनेको लर्को, ५ लाखले छोडे काठमाडौं उपत्यका

काठमाडौं । बडादशैँको उल्लाससँगै राजधानी काठमाडौं छाडेर जन्मथलो फर्किने नेपालीको लर्को लागेको छ। रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा उपत्यकामा बस्दै आएका नागरिक गाउँ फर्किएपछि सहरका सडकमा चहलपहल घटेको छ भने गाउँघरमा दसैँको रौनक बढेको छ । महाअष्टमीसम्म करिब पाँच लाख यात्रुले काठमाडौं उपत्यका छाडिसकेको जनाइएको छ ।

घटस्थापनादेखि सुरु भएको घर फर्किने क्रम आइतबार महाअष्टमीसम्म पनि रोकिएको छैन । नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, माछापोखरी र गौशाला लगायतका क्षेत्रमा बिहानैदेखि यात्रुको भीड देखिएको थियो । लामो दूरीका सवारीसाधन यात्रुले भरिएका छन् भने टिकट व्यवस्थापनका लागि बस काउन्टरमा समेत यात्रुको चाप देखिएको छ ।

वर्षभरि परिवारबाट टाढा रहेर काम गर्नेहरू चाडपर्वका बेला घर पुग्न हतारिन्छन् । यही कारण दशैँ नजिकिँदै गर्दा उपत्यकाका मुख्य सडकमा सवारी चाप घट्ने र बाहिरिने नाकामा भीड बढ्ने गरेको छ ।

पूर्वतर्फ जाने यात्रुको चाप कोटेश्वर, जडीबुटी र भक्तपुर क्षेत्रमा देखिएको छ । पश्चिम तथा तराईतर्फ जाने यात्रुहरू कलंकी, बल्खु, बालाजु र थानकोट नाकामा केन्द्रित छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्ला दिनमा उपत्यका छाड्ने यात्रुको संख्या तीव्र रूपमा बढिरहेको छ ।

दशैँसँगै तिहार र छठ मनाउन घर फर्किने क्रम आगामी दिनमा पनि जारी रहनेछ । यसले गर्दा राजधानीका सडकमा सवारीसाधनको चाप घट्ने भए पनि लामो दूरीका राजमार्गमा यात्रुको दबाब कायमै रहने देखिन्छ ।

यात्रु ठगी रोक्न सहायता कक्ष
चाडपर्वका बेला यात्रुसँग बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र टिकटमा अनियमितता गर्ने समस्या रोक्न प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । निर्धारित भाडादरभन्दा बढी रकम लिने र सवारी नियम उल्लंघन गर्नेमाथि कारबाही गरिने प्रहरीले जनाएको छ ।

घर फर्किने हतारोबीच सडक सुरक्षाको चुनौती पनि गम्भीर बनेको छ । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै २५७ जना घाइते भएका छन् । असोज ३१ गतेको प्रहरी तथ्यांकअनुसार कोशी प्रदेशमा तीन र लुम्बिनी प्रदेशमा एक जनाले ज्यान गुमाएका हुन् ।

कोशीमा ६६, लुम्बिनीमा ६० र मधेशमा ४३ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा २९, सुदूरपश्चिममा २१, बागमतीमा २०, कर्णालीमा १० र गण्डकीमा आठ जना घाइते भएका छन् ।

सडकका खाल्डाखुल्डी, पहिरो प्रभावित खण्ड, तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले जोखिम बढाएको छ । त्यसैले चाडपर्वको खुसीलाई दुर्घटनाको शोकमा बदलिन नदिन चालक, यात्रु र सम्बन्धित निकाय सबै जिम्मेवार बन्न आवश्यक छ ।

तस्बिरहरु: रमिता छुँजु/ नेपाल फोटो सर्भिस (NPS)

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर