आजदेखि तातोपानी नाका तीन दिन खुल्ने, हिल्सा सडक खुलाउन पनि तीव्रता

काठमाडौं । दसैंमा आपूर्ति व्यवस्था सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि खुल्ने भएको छ । उता, अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडक सञ्चालनमा ल्याउन पनि सरकारले काम तीव्र पारेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा चिनियाँ पक्षले कात्तिक १ देखि ३ गतेसम्म तातोपानी नाका अस्थायी रूपमा सञ्चालन गर्न सहमति जनाएको हो । उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न दिइनेछ । दसैंका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले नाका खोल्न लागिएको हो ।

 

यसैबीच पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नारापास–हिल्सा सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार सामाजिक सञ्जालमार्फत सडक खुलाउन मन्त्रालयको डिभिजन टोली जोखिमपूर्ण अवस्थामा खटिएको बताएका हुन् ।

समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटर उचाइमा रहेको नाउरपानी क्षेत्रमा बाक्लो हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । उपकरण र जनशक्ति परिचालन गरी हिउँ पन्छाउने काम भइरहेको छ ।

हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुगेका नेपालीलाई दसैंमा घर फर्कन सहज बनाउने उद्देश्यले सडक खुलाउन प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर