
तनहुँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँले आज दमौलीमा आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा कोइरालाले पार्टीका कार्यकर्ता निराश रहेकाले निराशालाई आशामा बदल्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताएका हुन् ।
पार्टी विधानबमोजिम अगाडि बढ्न नसकेको बताउँदै नेता कोइरालाले पार्टीलाई विधानबमोजिम हिँडाउने अभियानमा आफू लागिपरेको जिकिर गरे । उनले भने, ‘पार्टी विधानबमोजिम चलेको छैन । भ्रातृ संस्थाको अधिवेशन समयमै भएका छैनन्। पार्टीको महाधिवेशन पनि निर्धारित मितिमै हुन्छ कि हुँदैन भन्ने आशङ्का छ ।’ पार्टीलाई विधानबमोजिम अगाडि बढाउन सकेमात्रै नेता तथा कार्यकर्ता उत्साहित हुने बताउँदै नेता कोइरालाले वि.सं. २०८३ मङ्सिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताए । त्यसका लागि देशभरका कार्यकर्ताले दबाब दिनुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचार अन्त्य र सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउँदै सरकारले त्यसमा निमर्मतापूर्वक काम गर्नुपर्ने डा. कोइरालाले बताए । उनले भने, ‘भ्रष्टाचार र कुशासनले मुलुक पछाडि परेको छ । जबसम्म यो सुध्रिदैन देश विकास हुन सक्दैन ।’ दैलेखमा ग्यास भेटिएको खबरले सकारात्मक सञ्चार प्रवाह गरेको भन्दै कोइरालाले त्यसको सही सदुपयोग हुनुपर्ने बताए। नेता कोइरालाले देशको हरेक परिवर्तनमा प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो। पार्टीले प्रजातन्त्र सेनानीका योगदानलाई कहिल्यै नबिर्सने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टाचार अन्त्यका लागि पार्टीले सशक्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो। कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान विरोधी तत्वलाई परास्त गर्नुपर्ने आवश्यकता औंल्याए । प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले पार्टीका हरेक तहमा सेनानीलाई आरक्षणको व्यवस्था हुनुपर्ने बताए । कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारलाई सम्मान गरिएको थियो ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना