काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा करिब ३३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ३२.९८ गुणा बढीको आवेदन परेको हो ।
शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि अर्थात् २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको आवेदन परेको सिडीएससीले जनाएको छ । बैंकहरुमा भौतिक रुपमा आएको आवेदनहरुलाई आज रातिसम्म नै इन्ट्री गर्न सकिने भएकोले आवेदकको संख्या अझै बढ्न सक्छ । कम्पनीले पुस ७ गतेदेखि आज पुस ११ गतेसम्मको अवधि तोकेर आम सर्वसाधारणलाई ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको थियो ।
बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । खुलेको ४० मिनेटमै कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको थियो । कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।