बाँके। नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, फोहोरको वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् ।
विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ को अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको जनाइएको छ । कार्यक्रम सञ्चालित श्री देउतादिन माध्यमिक विद्यालय, नारायण मावि, धम्बोजी मावि, सरस्वती मावि, दारुल उलम बर्सतिया मावि, ज्ञानोदय विद्या निकेतन र फुलटेक्रा माविमा अनुगमन गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यक्रमले विद्यालयस्तरबाटै दिगो वातावरणीय अभ्यासको सुरुआत गरिएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताए ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय र समुदायसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले कार्यक्रममार्फत विद्यालयमा देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार आवश्यक रहेको बताए । सो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई फोहोर तथा फोहोरसम्बन्धी अभ्यासहरूको परिचय, फोहोर वर्गीकरण यसको बुझाइ, ‘थ्री आर’ विधि, फोहोरबाट कम्पोस्टको उत्पादन, फोहोर जलाउँदा हुने असरहरू, विद्युतीय फोहोर व्यवस्थापन र फोहोर र जलवायु परिवर्तनको विषयमा कक्षा सञ्चालन गरिएको छ ।
यसबाट विद्यालय परिसर सफा, स्वच्छ र वातावरणमैत्री बन्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ । विद्यालयमा शून्य फोहोर अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय तहको समग्र वातावरण व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रूपान्तरण परियोजनाअन्तर्गत सञ्चालित विद्यालयमा शून्य फोहोर कार्यक्रमको आइतबार अनुगमन गरिएको हो ।
अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालगायत सहभागी थिए ।