
स्याङ्जा । यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो ।
एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवको आकर्षण बढेको हो । तीन–चार वर्षअघिदेखि थोरै मात्रामा खुर्सानीखेती गर्दै आएकामा उत्पादन राम्रो भएपछि व्यावसायिक रूपमा अगाडि बढेको किसान तनबहादुर गुरुङले बताए ।
वैदेशिक रोजगारीमा आठ वर्ष बिताएका गुरुङले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएसँगै खुर्सानीखेती थालेका हुन् । “विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउन सकियो भने राम्रो हुने ठानेर स्वदेशमै खुर्सानीखेती गर्ने निधो गरेँ”, उनले भने, “जङ्गलैजङ्गल, बाँझो अनि पातीको झाडी फाडेर खुर्सानी लगाएका छौँ ।”
अहिलेसम्म झन्डै १० हजार बिरुवा लगाइसकेका गुरुङले यस वर्ष २० हजार बिरुवा खुर्सानी लगाउनका लागि जमिनको तयारी गरेका छन् । आफ्नै २० रोपनीका अलावा थप १० रोपनी जमिन भाडामा लिएका छन् ।
“गाउँबाट बसाइँ सरेर बजार जाने प्रवृत्तिकै कारण गाउँका घरहरू रित्तिँदै गए जग्गा जमिन बाँझिन थाले”, उनले भने, “बाँझिएको जमिनको सदुपयोग गर्दै आम्दानीसित जोडिँदै गाउँमै बसेर पनि केही गर्न सकिन्छ है भन्ने उदाहरण खुर्सानीले दिनेमा म विश्वस्त छु ।” गाउँघरमा प्रतिमाना रु १०० र प्रतिकेजी रु ३५० का दरले बिक्री गर्न सकिने व्यावसायी कुमार गुरुङले बताए ।
खुर्सानीको माग अत्यधिक रहेकाले खुर्सानी बिक्रीबाट यस वर्ष करिब १० लाख आम्दानी गर्ने लक्ष्य उनको छ । खुर्सानी लगाउनका लागि जग्गा जमिन सम्याउने, बिरुवा लगाउने कार्यका लागि हाल आठ जनाले रोजगारी पाउनुभएको छ । अन्य बाली लगाउँदा बाँदरलगायत जङ्गली जनावरले नष्ट गरिदिने भएकाले खुर्सानीलाई विकल्पका रूपमा अगाडि सारिएको हो ।
पछिल्लो समय भिरकोट नगरपालिकाले व्यावसायिक अकबरेखेती कार्यक्रमलाई कार्यान्वयनमा लगेको छ । भिरकोटको वडा नं ९ मा झन्डै ९० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको छ । विभिन्न समूह, सहकारी तथा व्यक्तिमार्फत वडामा झन्डै एक सय जना किसान खुर्सानीखेतीमा सहभागी भएका भिरकोट–९ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए ।













समाचार
सेयर बजारको समस्या समाधानका लागि कांग्रेसले थाल्यो विज्ञहरूसँग परामर्श
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो