मेचीनगरको पातालगङ्गा र घैलाडुब्बा पर्यटकीय गन्तव्यमा रूपान्तरण हुँदै

झापा । मेचीनगर–५ र ८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको घैलाडुब्बा शिव तथा देवी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवद्र्धन हुन थालेको छ ।

महाभारतकालीन पौराणिक कथा र राणाकालीन इतिहाससँग जोडिएको यो मन्दिर पूर्वी क्षेत्रकै सबैभन्दा पुरानो धार्मिकस्थलमध्ये एक मानिन्छ । विसं २०१५ मा स्थानीय कुमारसिंह चौधरी र पानेश्वरी चौधरीले मन्दिर बनाएको ताम्रपत्र भेटिएको छ भने मन्दिरको इतिहास त्योभन्दा दशकौँ पुरानो मानिएको छ । राणा प्रधानमन्त्री जङ्गबहादुर राणा शिकार खेल्न आउँदा जङ्गलको माझमा साधुसन्तले धुनी जगाएर तपस्या एवम् साधना गरिरहेको देखेपछि उनले नै पहिलोपल्ट मन्दिरको स्थापना गरिदिएको सुरेन्द्रनगर घैलाडुब्बा शिव तथा देवी मन्दिर संरक्षण समितिका अध्यक्ष गणेशकुमार खरेलले बताए । पुरातत्व विभागले झापाका दुईवटा महत्वपूर्ण धार्मिक स्थललाई आफ्नो सूचीमा राखेर संरक्षण गरिरहेकोमा यो मन्दिर पनि विसं २०७७ मा विभागको सूचीमा सूचीकृत भएको उनले जानकारी दिए ।

यो मन्दिरको मुख्य विशेषता यसको निर्माण शैली हो । धार्मिक गुरु एवं मन्दिर संरक्षण समितिका सदस्य पण्डित रामचन्द्र अधिकारीका अनुसार मन्दिरको मूल संरचनामा कतै पनि फलामको किला, काँटी, सिमेन्ट वा ढुङ्गाको प्रयोग गरिएको छैन । यो माटोबाट मात्र निर्मित अनौठो र ऐतिहासिक संरचना हो । यस धार्मिक क्षेत्रमा घैलाडुब्बा र पातालगङ्गा गरी दुई अलगअलग स्थान र मन्दिर छन् । घैलाडुब्बा मन्दिर क्षेत्र मेचीनगरको वडा नं ५ मा र पातालगङ्गा क्षेत्र वडा नं ८ मा पर्दछ ।

महाभारत कालमा भीमसेनले लखेट्दै ल्याउँदा पातालगङ्गा क्षेत्रमा आइपुगेपछि किचकले आत्मसमर्पण गरेको र पाण्डवले जलधारा उत्पत्ति गरेको किङ्वदन्ती छ । किचकलाई यहिँको जलपान गराएर मात्र पृथ्वीनगरको किचकबध स्थलतर्फ लगिएको विश्वास गरिन्छ । मन्दिरबाट करिब २०० मिटर दक्षिणमा चियाबारीबीचमा ‘पातालगङ्गा भगवती’को उत्पत्तिस्थल रहेको छ भने यसको नजिकै उत्तरबाहिनी नदी बगेकी छन् । यहाँको जलको दृश्य निकै अलौकिक छ । चैतको खडेरी होस् वा साउनको वर्षा, यहाँ धरतीबाट सधैँ एकैनासको जलधारा उम्रिरहने गर्दछ ।

यो क्षेत्रमा भगवान भोलेनाथ, हनुमान, राधा सर्वेश्वर, भगवती छिन्नमस्ता, दुर्गा र नाग देवताका मन्दिर रहेका छन् । यहाँ प्रत्येक वर्षको महाशिवरात्रिमा विशाल मेला लाग्ने गर्दछ, जहाँ स्थानीय आदिवासी समुदायका साथै अन्य भक्तजनको ठूलो घुइँचो लाग्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा यो मन्दिर बनेको किंवदन्ती रहेको अध्यक्ष खरेलले बताए । प्राचीन समयमा यहाँको घना जङ्गलको बीचमा एउटा विशाल पोखरी रहेको र त्यहाँ घैला ‘माटोको गाग्रो’ डुब्ने भएकाले यस ठाउँको नाम ‘घैलाडुब्बा’ रहन गएको हो । विगतमा यहाँ नागा बाबाले धुनी बालेर तपस्या गर्ने गर्दथे । हाल यस ऐतिहासिक मन्दिरमा १०० वर्षीय वृद्ध पुजारी मणिराम दासले पूजाअर्चना गर्दै आएका छन्।

पछिल्लो समय स्थानीय समुदाय र स्थानीय सरकारको सक्रियतामा मन्दिरको संरक्षण र सौन्दर्यकरण तीव्र पारिएको छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग र होमकुण्ड निर्माण गरिएको छ, जसको प्राणप्रतिष्ठा आगामी असार महिनामा गर्ने तयारी भइरहेको छ । शिवलिङ्ग निर्माणका लागि विभिन्न दाताले दान तथा चन्दा सहयोग उपलब्ध गराएका छन् ।

मन्दिरको भौतिक पूर्वाधारतर्फ चालू आर्थिक वर्षमा मेचीनगर नगरपालिकाले ब्लक लगाउनका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ भने वडा कार्यालयको सहयोगमा आधुनिक शौचालय निर्माण गरिएको छ । वडा नं ८ मा पर्ने पातालगङ्गा मन्दिर क्षेत्रको सरसफाई र सौन्दर्यकरण गरेर यसलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार