
बाँके । लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान खोज्ने, शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबिच सहकार्य विस्तार गर्ने र अनुसन्धानलाई प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल भएको थियो । दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको उक्त सम्मेलनमा इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा नीरज केसीले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधि र नवप्रवर्तनमा आधारित व्यावहारिक समाधान खोज्ने उद्देश्य राखिएको उल्लेख गरे । उनका अनुसार नेपालगन्जको बढ्दो गर्मी, पानी व्यवस्थापन समस्या तथा स्थानीय विकासका चुनौतीलाई विशेष रूपमा छलफलमा समावेश गरिएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा विनोदप्रसाद ढकालले बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थीको सहभागिता रहेको उल्लेख गर्दै नेपालगन्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यअनुरूप सम्मेलन सफल भएको बताए ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा सुदन झा, प्रा डा विनयकुमार मिश्र, प्रा डा मनिष पोखरेल, डा राजन सुवाललगायतका विज्ञहरूले प्रविधि, अनुसन्धान र विकासका विविध आयाममा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । सम्मेलनको दोस्रो दिन विभिन्न स्थानबाट आएका सहभागी तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न प्राविधिक विधाका अनुसन्धान पत्रहरूको मौखिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्यानल छलफलका क्रममा सञ्जय थापाले नेपालगन्जलाई सूचना प्रविधिसँग जोड्न सीमापारको सम्बन्ध उपयोगी सुरुआत हुनसक्ने उल्लेख गर्दै उत्तर प्रदेश र बिहारका विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । उनले समाजमा अझै पनि सूचना प्रविधिको महत्वबारे थप बुझाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशको गौरवको योजनाका रूपमा बाँकेमा सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्नो तीन वर्षे यात्रामै सिम्पोजियम, अन्तर्राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गर्दै आफूलाई स्थापित गरेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व