
काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। एसोसिएटेड प्रेस (एपी)का अनुसार बैंककको उत्तरी क्षेत्रमा रहेको ना लाडफ्राओ पबमा राति करिब १२ बजे आगलागी भएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पबबाट ठूलो आगोको मुस्लो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल घटनास्थल पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए। प्रधानमन्त्रीका अनुसार घटनास्थलमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले स्टेज नजिकको विद्युत् सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखेका थिए। त्यसपछि अचानक विद्युत् आपूर्ति बन्द भएको, केहीबेरमै विस्फोटको आवाज सुनिएको र बाक्लो धुवाँले पूरै पब भरिएको उनले बताएका छन्।
अनुटिनले अधिकांश मृतक पबको पछाडिपट्टिको शौचालय क्षेत्रमा फेला परेको जानकारी दिए। बैंककका गभर्नर चाडचार्ट सिट्टिपुन्टका अनुसार ६३ जनालाई अस्पताल लगिएको छ, जसमध्ये २२ जनाको अवस्था चिन्ताजनक छ।
धेरै पीडितसँग परिचय खुल्ने कागजात नभएको वा उनीहरू बेहोस अवस्थामा रहेकाले उनीहरूको पहिचान गर्ने काम जारी रहेको उनले बताए। दमकलकर्मीहरूले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा पबभित्रका टेबल, कुर्सी जलेर नष्ट भएको र भित्री संरचनामा ठूलो क्षति पुगेको देखिन्छ।
हराइरहेका आफन्तको खोजीमा आउने परिवारका सदस्यहरूबाट जानकारी संकलन गर्न घटनास्थलमै दर्ता केन्द्र पनि स्थापना गरिएको छ। गायिका सुकान्या वोङवोङवाईले आफू नजिकै अर्को स्थानमा प्रस्तुति दिइरहेकी बेला आगलागीको खबर पाएपछि घटनास्थल पुगेको बताइन्। उनका अनुसार उनका केही ब्यान्ड सदस्यहरू उक्त पबमा प्रस्तुति दिइरहेका थिए। तीमध्ये एक जनाको मृत्यु भएको, तीन जना अस्पतालमा उपचाररत रहेका र एक जनाको अझै अवस्था अज्ञात रहेको उनले जानकारी दिइन्।
‘भित्र रहेका मानिसहरूका अनुसार आगो लाग्नेबित्तिकै सबै अन्धकार भयो। बिजुली गयो, जताततै धुवाँ भरियो, त्यसैले कसैलाई अरू मानिस कहाँ छन् भन्ने थाहा पाउनै सकिएन।’ थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद आगलागीका घटना भएका छन्। सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो।
त्यसअघि सन् २००९ को जनवरी १ मा बैंककको सान्टिका नाइटक्लबमा नयाँ वर्षको उत्सवका क्रममा भएको आगलागीमा ६६ जनाको ज्यान गएको र २०० भन्दा बढी घाइते भएका थिए। त्यो आगलागी भित्री भागमा गरिएको आतिशबाजीका कारण भएको प्रारम्भिक अनुमान छ।












समाचार
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
पुरोहितहरुलाई कर्मकाण्ड कक्षा
अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह
म्याककलम इंग्ल्यान्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
हरित आयले बदलेको महिलाको दैनिकी
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह