
भोजपुर। महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।
दुर्गम क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले बताइन्। महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले अभियानलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
संस्थाले विशेषगरी महिला स्वास्थ्य तथा महिलाको नेतृत्व क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिइन् । संस्थाले हालसम्म करिब २५ हजार महिलालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको र यस वर्ष थप १० हजार महिलासम्म सेवा पुर्याउने लक्ष्य राखेर ‘मातृत्व जोगाउने अभियान’ सञ्चालन गरिरहेको उनले बताइन् ।
गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्तन तथा पाठेघरको मुखको क्यान्सरको खोजी, पहिचान र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यस्ता शिविरले सहज रूपमा सेवा पाउनुका साथै समयमा नै रोगको पहिचान गरी उपचारसमेत सहयोग पुग्ने उनको भनाइ छ ।
“पाठेघर र स्तन क्यान्सरको खोजी तथा पहिचान गर्न शिविरमार्फत सेवा दिएका हौँ”, अध्यक्ष बस्नेतले भने, “शिविरले क्यान्सर रोकथाममा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।” शिविरसँगै महिलालाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यस्तै, किशोरीलाई समुदाय तथा सामाजिक विषयवस्तुबारे जानकारी दिन सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममार्फत घरघर तथा समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको बताइएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा दुई महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा रेखा साहले जानकारी दिइन् । अभियानका क्रममा महिलालाई क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे जानकारी प्रदान गरिएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम