विदेशबाट फर्किएर गड्यौला मल बेचेर वार्षिक २२ लाखसम्म आम्दानी

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन्।

चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर आफूले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएको उनले बताए। “मेहनत गर्ने हिम्मत र हातमा सीप भए एक–दुई लाख कमाउन विदेश जानु पर्दैन”, लोप्चनले भने। धमाधम मल प्याकिङ गरिरहेका लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताए।

जैविक मल बोटबिरुवाका लागि निकै उपयोगी मानिन्छ। यहाँ उत्पादन भएको मल गाउँघरमा गमलामा फूल रोप्नदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न र व्यावसायिक तरकारीखेती गर्ने किसानले बेर्ना निकाल्न प्रयोग गर्ने गर्छन्। सुरुमा जैविक तथा गड्यौला मल बोटबिरुवाका लागि रासायनिक मलखादभन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएको उनको कथन छ। “अहिले उहाँहरू आफैँ मल खोज्दै आउनुहुन्छ, खुसी लाग्छ”, लोप्चनले सुनाए। साना बेर्ना तथा बोटबिरुवामा रासायनिक मलखाद प्रयोग गर्न नमिल्ने हुँदा जैविक तथा गड्यौला मलको माग उच्च रहेको उनले बताए।

गड्यौला मल कृषि बजारमा कालो हीरा (ब्ल्याक डायमन्ड) को रूपमा बिक्री वितरण हुने गरेको छ। लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रले दिएको जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सात दिनको तालिम लिएका थिए। तालिम लिएर आएपछि उत्पादन सुरु गरेका उनले बजार खोज्दाको सास्ती अझै भुलेका छैनन्। गाउँमा तरकारीखेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मल ल्याउने चलन थियो। “मैले धेरै अनुरोध गरी सम्झाएँ बुझाएँ”, उनले भने, “आफ्नो गाडीले १०/१० बोरा मल निःशुल्क खेतमा लगेर दिएर प्रयोग गर्न अनुरोध गरेँ। खेती राम्रो भएपछि किसानहरू आफैँ मल खोज्दै आउन थाल्नुभयो।”

तरकारीमा आलु, प्याज, काउली, टमाटरखेतीका लागि सर्लाहीको लालबन्दी निकै चर्चित ठाउँ हो। त्यसपछि बजारले आफूलाई खोज्न थालेको उनले सुनाए। तालिमबाट आधारभूत ज्ञान र एक हजार वटा गड्यौला पाएपछि सुरु गरेको मल उत्पादन अहिले उनको मनग्य आम्दानीको बाटो बनेको छ।

लालबन्दी–२, जुटपानी घरमै उनले लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट दर्ता गरी सञ्चालन गरिरहेका छन्। सोही फर्मको नाममा बोरामा २५ किलोका दरले प्याक गरेको जैविक तथा गड्यौला मल काठमाडौँ, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका एग्रोभेटहरूसम्म पुग्ने गरेको छ। जिल्लाका गमलामा फूल सजाउने बगैँचाको सौखिनदेखि व्यावसायिक तरकारी उत्पादन गर्ने किसान र अहिले अन्य अन्नबाली लगाउने किसानसमेत यस मलप्रति आकर्षित भएका छन्।

पच्चीस किलोको एउटा बोरा मलको रु ३२५ पर्छ। “धेरै उत्पादन हुँदा स्थानीय किसानलाई बेचेर महिनाको दुई ट्रक मल काठमाडौँ पठाउने गरेको थिएँ”, उनले भने, “भएनभन्दा पनि महिनामा एक ट्रक पठाउने गरेको छु। उता पनि आफ्ना ग्राहक छन्।” ट्रकमा ४०० बोराका दरले मल जाने गर्छ।

लोप्चनले छ सन्तानलाई यसैको कमाइले शिक्षादीक्षा र लालनपालन गरे। अहिले दुई छोरा, एउटा युरोप र अर्को मलेसियामा छन्। उनीहरूलाई विदेश पठाउन लागेको ठूलो धनराशि यसैबाट जुटाएको उनको भनाइ छ। लोप्चनले तीन सन्तानको पठनपाठन र लालनपालनको दायित्व अझै यसैको आम्दानीबाट पूरा गरिरहेका छन्। चार मजदुर र उनी तथा उनकी श्रीमती नियमित काममा लाग्ने गर्छन्।

काठमाडौँमा गरेको किराना पसलको व्यापार बिग्रिएपछि लोप्चन परिवारलाई दैनिक गुजारामा समेत धौधौ भयो। त्यसपछि भएको थोरै जग्गामा खनिखोस्री गर्छु भनेर उनी गाउँ फर्किएका थिए। गाउँमा किसान समूह गठन गरेका थिए। समूहमा विभिन्न तरकारीका बीउबिजन लिएर कृषि ज्ञान केन्द्रका कर्मचारी आउने–जाने गरिरहन्थे। उनीहरूले दिएको ज्ञानबाट यो पेसामा लाग्न प्रेरित गरेको उनी बताउँछन्।

अहिले वार्षिक ४० देखि ४५ लाखसम्मको जैविक तथा गड्यौला मल बिक्री गरेर रु २० देखि २२ लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ।

सुरुमा गड्यौला समेत बिक्री गरेर आम्दानी गर्ने गरेको भए पनि अहिले मल उत्पादनमा जोड दिएका छन्। गड्यौला बिक्रीले मल उत्पादनमा कमी हुने भएकाले गड्यौला बिक्री गर्न छाडेको उनले बताए। यहाँ गड्यौला मात्र प्रतिगोटा दुई रुपैयाँमा बिक्री हुन्छ। यसबाट समेत ठूलो रकम आम्दानी गर्न सकिने उनको सुझाव छ।

गाउँघर र वनमा कुहिएर रहेका पातपतिङ्गर, पराललगायतका वनस्पति र गोबर मल जम्मा गरेर जैविक तथा गड्यौला मल तयार गर्ने गरिएको लोप्चनले बताए। गड्यौला मलका लागि गोबर मल प्रतिट्रेलर तीन हजार र ढुवानी तथा मजदुर खर्च १५ सय लगानी पर्ने उनको भनाइ छ।

“जैविक घाँसपात र गोबर जम्मा गरेर गड्यौलालाई दिएपछि गड्यौलाले खाएर मल तयार गरिदिन्छ”, उनले भने, “यसरी गड्यौलाले खाएर मलको रूपमा निकालेको धुलो छानेर प्याकिङ गरेर बजार पठाउने गरिन्छ।” लगानीको झण्डै ५० प्रतिशतसम्म फाइदा बस्ने भएकाले यसमा दुःख, फोहर र मोहर यसैमा रहेको उनी बताउँछन्।

कम्पोस्ट मलको प्रयोगले जमिनको उर्वर शक्ति वृद्धि हुने भएकाले निकै राम्रो हुने कृषि जेटिए सुरज खनालले बताए। रासायनिक मलका कारण जमिनमा उत्पादन शक्ति ह्रास हुँदै जाने र मानव स्वास्थ्यमा समेत यसले प्रत्यक्ष असर गर्ने भएकाले जैविक तथा गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट