
बागलुङ । कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको छ । बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो ।
करिब तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पर्वत तर्फको मुख्य पिलरको जग अविरल वर्षापछि बढेको नदीको बहावले कटान गरेको हो । नदीको सतह बढेसँगै गत बिहीबारबाट पुलको जगमा क्षति पुग्न थालेको बताइएको छ । हाल जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षणपछि सडक डिभिजन कार्यालयले थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराएको कार्यालयका प्रमुख इञ्जिनियर हरि सुवेदीले जानकारी दिए । तत्कालै केही गर्ने अवस्था छैन, पानी घटेपछि क्षति हेरेर पुल मर्मतको काम सुरु गरिन्छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्ने मालढुङ्गा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो । पुलको जग संरक्षणसँगै थप क्षति हुन नदिनका लागि निर्माण गरिएको पर्खाल भत्किएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सावधानी अपनाएर मात्र सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।
सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लो भाग ५०० मिटर र तल्लो भाग एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि पुल आसपास नदी दोहन र नदीजन्य सामग्रीको उत्खनन हुँदै आएको छ । यसले पुलसँगै मालढुङ्गा बस्ती थप जोखिममा परेको कार्यालयको भनाइ छ । हाल नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत कार्य सुरु गर्न सम्भव नभएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए ।













समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै