
बैतडी । घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् ।
बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका ५० घार मौरी छन् । पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आएका छन् । स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउछन् । “लामो समयदेखि मौरीपालन गरेको हुँ । व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्याएको छु । घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु”, विष्टले भने ।
युवापुस्ता रोजगारीको खोजीमा विभिन्न मुलुकतिर गएका बेला विष्ट भने मौरीपालन व्यवसायमा रमाइ रहेका छन् । मह बेचेर नै उनले घरपरिवार धानिरहेका छन्। बजारको कुनै समस्या छैन । स्थानीय बजारमै १५ सय रुपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ । वर्षमा अढाइदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। “चैत–वैशाखको बीचमा एकपटक र कात्तिक–मङ्सिरमा दोस्रो पटक गरी दुईपटक मह निकाल्छु, एकपटक निकाल्दा एक क्विन्टल बढी हुन्छ”, उनले भने, “हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ ।”
आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै कठिन हुने गरेको छ । “आधुनिक घारहरू छैनन्”, उनले भने, “काठको परम्परागत घारहरूमा जङ्गली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।” पछिल्लो समयमा तरकारी खेतीमा प्रयोग हुने विषादीले चुनौती थपिएको विष्टले बताए। “मौरीहरू फुल फुलेको ठाउँमा पुग्छन् । तरकारी खेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन् ।”, उनले भने। उनी मौरी पालनसँगै बाख्रापालनमा पनि व्यस्त छन् ।













समाचार
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
स्वास्थ्य बीमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै
इम्मोबिलेले लिए फुटबलबाट सन्न्यास, १७ वर्षको खेल जिवन अन्त्य
संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार