
चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उनले भनर्,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन बाबु भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।”
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउछन् । उनले भने, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।”
यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने गरेको छ । विद्यालय र उच्च शिक्षा तह अध्ययनरत गरेका विद्यार्थीहरू लामो कपाल पाल्न सौखिन हुन थालेका छन् । कतिपयले त लामो कपाल मिलाउन (कोर्न)समेत इन्कार गर्ने गर्दछन् । जस्तो छ उस्तै छाड्ने उनीहरूको बानी हुने गरेको छ ।
विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने गरेको पाइएको छ । भरतपुर महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख सुवास आचार्य विद्यार्थीहरूले विद्यालयले दबाबमा कपाल काट्न लगायो भनेर हेलो सरकारमा उजुरी दिने गरेको जानकारी आफूकहाँ आएको दिए ।
उनका अनुसार विशेष गरेर हजुरबुबा आमासँग बस्ने, होस्टल (आवास)मा बस्ने र अभिभावकभन्दा टाढा रहेका विद्यार्थीले कपाल छोटो बनाउन नमान्ने गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी विद्यार्थीलाई कपाल काट्न भन्न छाडेको बताउछन् । निजी विद्यालय विरुद्ध हेलो सरकारमा उजुरी परेको जनाउँदै उनले देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यालयले जबर्जस्ती कपाल काट्न लगाउने गरेको उजुरी परेको जानकारी पाएको बताए । उनले भने, “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन । कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ । ”
सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन)मा जबर्जस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आएपछि सरकारले ऐनमा नै यो व्यवस्था गरेको हो ।
नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भनिएको छ । विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा सुरेन्द्र घिमिरे पहिलेपहिले विद्यार्थीहरू क्याम्पस पढ्ने समयमा मात्रै चलचित्र हेरेर विश्वका गतिविधि थाहा पाउने र सोको सिको गर्ने भए पनि अहिले सानै उमेरदेखि विश्वका गतिविधि देख्न पाउँदा त्यसप्रति नक्कल गर्ने झुकाव बढेको बताउछन् । उनले भने, “नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो । जे चिज ‘सेलिब्रेटी’ले गर्छन्, त्यसको नक्कल उनीहरूले गर्न चाहन्छन् ।”
इन्टरनेट र सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि हुँदा अहिले किशोर अवस्थादेखि नै त्यसको सिको गर्न थालेको उनको बुझाइ छ । उनले भने, “बच्चाले मोबाइलमा सेलिब्रेटी देखेको छ, पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ ।” कपाल पाल्ने, नराम्रो होइन ।” यद्यपि कपाल पाल्दै गर्दा त्यसको स्याहारसुधारमा लाग्ने खर्च र समयका कारण पढाइमा पर्ने असर भने कायमै रहेको उनी बताउँछन् ।
घर, विद्यालय सबैतिरबाट किशोरावस्थामा कपाल नपाल्न आग्रह गरिए पनि नटेर्नुलार्ई भने आज्ञाकारिताविरुद्धको साङ्केतिक विरोधका रूपमा लिन सकिने उनी बताउछन् । विशेषगरी विद्यालय तथा कलेज तहका किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक, आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेको देखिन्छ । सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको पाइन्छ ।
कपाल लामो हुँदा सफा गर्न गाह्रो हुने, दैनिक हेरचाहामा समय खर्च गर्नुपर्ने, खर्चिलो हुने र स्याहार सुधार गर्न नसकेमा जुम्रा, चाया परेर स्वास्थ्यमा असर पार्ने विज्ञहरु बताउँछन् । धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहर जम्ने हुँदा विशेषगरी गर्मीमा समस्या हुने गर्दछ ।










समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै