
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गरेको चियाखेती सफल भएको हो ।
‘कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ’, गौचनले भने, ‘परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।’ परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताए । आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ ।
विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘बल्याक टी’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताए । काठमाडौंमा व्यवसाय गर्दै आएका गौचनले पुख्र्याैली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाएका छन् ।
चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्दै आएकी छन् । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन् । छ रोपनी क्षेत्रफलमा चियाखेती गर्न रु २० लाख लगानी भएको रनदेवीले बताइन् । ‘अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्,’ उनले भनिन्, ‘पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।’
फलातेअघि अन्नपूर्ण गाउँपालिका–६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका–३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ । म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन । फलातेको चिया बगानको अवलोकन गर्न पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताए । चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उनले बताए ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल