
काठमाडौं । ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५ जनाको टोलीद्वारा सफलतापूर्वक आरोहण गरेका छन्।नेपाल पर्वतारोहण सङ्घ (एनएमए) र दिगो पर्यटन परियोजना (एसटीपी) को संयुक्त आयोजनामा सञ्चालित दोस्रो ग्रीष्मकालीन सीप विकास तालिममा सहभागी २९ जना र ६ जना प्रशिक्षक गरी ३५ जनाले उक्त पिकको सफल आरोहण गरेका हुन् ।
व्यावसायिक पर्वतीय पथप्रदर्शक बन्नका लागि आवश्यक ज्ञान, सीप र उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यावहारिक अनुभव हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमअन्तर्गत सहभागीले दङ्गा पिक आरोहण गरेका नेपाल प्रभातारण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तालिमका क्रममा सहभागीलाई काठमाडौँमा सैद्धान्तिक ज्ञान, चट्टान आरोहणलगायतका प्रारम्भिक तथा तयारीसम्बन्धी प्रशिक्षण दिइएको थियो । त्यसपछि ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा रहेको दाङ्गा पिकमा लगेर हिमाली वातावरणमा प्रत्यक्ष अभ्यास गराइएको थियो ।
उच्च हिमाली क्षेत्रमा पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमबारे प्रत्यक्ष अनुभव दिलाउनु तालिमको मुख्य उद्देश्य रहेको एनएमएले जनाएको छ । हिमालमा पुगेर अभ्यास गर्दा सहभागीले हिमाली भूगोल, आरोहण प्रविधि, सुरक्षा र कठिन परिस्थितिमा काम गर्ने सीपलाई व्यवहारमै प्रयोग गर्ने अवसर पाएको सहभागीहररुले प्रतिक्रिया दिएका छन् । एनएमए अध्यक्ष शेर्पाका अनुसार दङ्गा पिक आरोहण तालिमको एउटा महत्वपूर्ण हिस्सा हो । ६ हजार मिटरभन्दा अग्लो हिमालमा गराइने यस्तो अभ्यासले सहभागीको प्राविधिक क्षमता परीक्षण गर्नुका साथै आगामी दिनमा व्यावसायिक पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्न आवश्यक आत्मविश्वास र दक्षता बढाउने पर्वतारोहीहरु तेम्बा छिरी शेर्पाको भनाइ छ ।
दोस्रो ग्रीष्मकालीन सीप विकास तालिम छ जना प्रशिक्षकसहित २९ जना सहभागीको सहभागितामा सञ्चालन भएको थियो। तालिम तथा दङ्गा पिक आरोहण सफलतापूर्वक सम्पन्न गरेपछि एनएमएको प्रशिक्षण टोली काठमाडौँ फर्किएको एनएमएका दीपक गुरुङले जानकारी दिए । यो तालिम सीटीईभीटीबाट स्वीकृत एक हजार ६ सय ९६ घण्टे व्यावसायिक पर्वतीय पथप्रदर्शक पाठ्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । उक्त पाठ्यक्रममा पर्वतीय पथप्रदर्शकका लागि आवश्यक सैद्धान्तिक ज्ञानसँगै चट्टान आरोहण, हिमाली क्षेत्रमा गरिने अभ्यास र वास्तविक पर्वतीय वातावरणमा काम गर्ने सीपलाई समेटिएको छ।
एनएमएले तालिम सफलतापूर्वक सम्पन्न गरी दङ्गा पिकको आरोहण गर्न सफल सबै सहभागीलाई बधाई दिएको छ। सङ्घले तालिम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ जना प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षण टोलीप्रति समेत आभार व्यक्त गरेको छ । नेपालको पर्वतीय पर्यटन विस्तारसँगै दक्ष र व्यावसायिक पथप्रदर्शकको आवश्यकता बढिरहेका बेला यस्ता व्यावहारिक तालिमले हिमाली पर्यटनलाई थप सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।













समाचार
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची