
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।
फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकैपटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए ।
प्रत्येक वर्ष मङ्सिर महिनामा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ । हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ । यसपछि वर्षा याम सुरु भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ । विगतमा यस क्षेत्रमा चारदेखि पाँच अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन् । केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।
उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै रु चार लाखदेखि पाँच लाख खर्च लाग्ने गथ्र्यो तर, यसपटक श्रमदानमार्फत जनशक्ति जुटाएर निर्माण सामग्री खरिद गर्न मात्र रु ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो । गाउँपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको छ भने पुल निर्माणका लागि श्रमदानमार्फत जनशक्ति जुटाइएको छ । गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ ।
पुल निर्माणसँगै स्थानीय बासिन्दाको जीवन सरल भएको छ । दैनिक आवतजावत र आवश्यक सामग्री ढुवानीमा सहजता आएको छ । ग्रामीण क्षेत्रका बासिन्दाले यस्तो पहलले आफूहरूको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । तमोर नदीले गाउँपालिकाको भूगोललाई दुई भागमा विभाजित गरेको छ । यसले शिक्षा, स्वास्थ्य, व्यापार, तथा अन्य आवश्यक कार्यका लागि एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा स्थानीयलाई कठिनाइ झेल्नुपर्ने अवस्था सिर्जना गरेको थियो । अस्थायी काठे पुलले यी चुनौतीलाई केही हदसम्म समाधान गरेको छ ।
गाउँपालिकाले स्थायी पुलहरू निर्माण गर्न दीर्घकालीन योजना बनाएको भए पनि सीमित बजेटका कारण यो प्रक्रिया ढिलो भइरहेको छ । हाल गाउँपालिकाले स्थायी पक्की पुल निर्माणका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गर्दै केही स्थानमा काम अघि बढाइरहेको छ । तर, बाँकी स्थानमा भने हालका लागि अस्थायी पुल नै विकल्प बनेको छ ।
श्रमदानले बजेट बचत गर्न सहयोग पुर्याएको छ, यसले सामुदायिक एकताको भावना पनि बलियो बनाएको छ । स्थानीय बासिन्दाले स्वेच्छाले दिएको श्रमदानको माध्यमबाट पुल निर्माण हुनु ग्रामीण विकासमा जनसहभागिता कस्तो प्रभावकारी हुनसक्छ भन्ने उदाहरण बनेको छ । तमोर नदीजस्ता ठूला नदीमा स्थायी पुल निर्माण गर्न ठूलो बजेट र प्राविधिक जनशक्तिको आवश्यकता पर्छ । यस्तो अवस्थामा अस्थायी पुलले तत्कालका लागि आवतजावतको समस्यालाई समाधान गरे पनि दीर्घकालीन रूपमा यस्ता अस्थायी पुलहरूले टिकाउ समाधान दिन सक्दैनन् । गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा थप स्थायी पुलहरू निर्माणको योजना बनाउँदैछ ।
श्रमदानमार्फत स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै सीमित बजेटमा पनि विकास निर्माण सम्भव छ भन्ने देखाएको छ । अस्थायी काठे पुलले ग्रामीण बासिन्दालाई यातायातको सहजता दिनुका साथै आर्थिक गतिविधि प्रवद्र्धनमा पनि योगदान पु¥याएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू