काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कृषि विकास बैंकको नाफा २९ प्रतिशतले घटेको छ । बैकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २९.३५ प्रतिशतले नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १३ अर्ब २८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १० अर्ब ५२ करोड ९४ लाख रुपैयाँ गरेको छ । उक्त आम्दानी २९ प्रतिशतले घटेको हो ।
बैंकको सञ्चालन नाफा १ अर्ब ४ करोड ९६ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको खराब कर्जा ४.९० प्रतिशत पुगेको छ ।