
म्याग्दी । मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ ।
प्रभुचेला धुरी प्रबर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले गण्डकी प्रदेश सरकार र प्रवासमा रहेका बिमवासीको सहयोगमा मेडिटेसनस्थलको पूर्वाधार तयार पारिएको जानकारी दिए । ‘परापूर्वकालमा ऋषिमुनिहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो’, योग प्रशिक्षकसमेत रहनुभएका उनले भने, ‘बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुचेलामा पूर्वाधार तयार भएको छ ।’
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको ५० लाख रुपैयाँ बजेटबाट ध्यान केन्द्रस्थल वरपर घेराबार, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । २८ लाख रुपैयाँ खर्चेर गोलो आकारको ध्यान गर्ने भवन निर्माण भएको छ । स्थानीय काठ, ढुङ्गामाटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमवासीले सहयोग गरेका अध्यक्ष जुग्जालीले बताए ।
पूर्वाधार निर्माणपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुुजाले बताए । ‘प्रभुचेलाको धार्मिक महत्व नबुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयवासीले गाईभैंसी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए’, उनले भने, ‘प्राकृतिक हिसाबले सुन्दर र मनमोहक रहेको प्रभुचेलामा नियमित ध्यानकेन्द्र सञ्चालनको तयारीमा छौँ ।’
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाँ सहयोगमा ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण भएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ। प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिहरूका लागि तपस्यास्थल थियो । बिमगाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए।
कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङबाट प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन् । पलवीर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनर्निर्माण गरेका छन् ।
छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्वर्गीय मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ । आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किँदा आश्रय लिन सहज भएको छ । समुद्र सतहबाट दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमबाट दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । प्रभुचेलालाई ध्यान केन्द्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट विनियोजन गराएको म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व