
काठमाडौं । “बाँसले जीवन राम्रो बनाउँछ” भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको छ । चैत २० गतेसम्म चल्ने तालिमको बुधबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
तालिममा गोदावरी नगरपालिका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थीहरू रहेका छन् । वडा नम्बर ४ मा बसोबास गर्ने पहरी र नगरकोटी समुदायका व्यक्तिहरूलाई तालिममा बढी सहभागी गराइएको छ । विशेष गरी पहरी र नगरकोटी समुदायका व्यक्तिहरू बाँसका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूको थप सीप विकास गर्न र व्यवसायिक बनाउनका लागि भन्दै तालिमको आयोजना गरिएको जनाइएको छ ।
सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सुरु भएको तालिमलाई चीनको सिजाङ (तिब्बत)मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् । स्थानीय साझेदारको रुपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् । ग्रीन ब्याम्बो क्रियशनले तालिम संचालनका लागि प्राविधिक सहयोग गरेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरीले यो तालिमलाई अवसरको रूपमा लिएको बताए । महर्जनले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकासले यस क्षेत्रका जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वडा नम्बर ४ का पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस भएको उल्लेख गर्दै अझ राम्रो सामग्री उत्पादनमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वडामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको तालिम आएकोले ध्यानपूर्वक तालिम अवधिभर सिक्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे । राम्रो उत्पादन गरेर बाँसको सामग्रीको बजारीकरण गर्नेगरी अघि बढ्नुपर्ने उनले बताए ।
आयोजक संस्था सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिहरूलाई व्यवसायिक बनाउनका लागि तालिम सञ्चालन गरिएको बताए । उनले बाँसको सामग्रीहरूको बजार नेपालमा मात्रै नभई विदेशमा पनि रहेको उल्लेख गर्दै व्यवसायिक रूपमा दक्ष जनशक्ति बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष मा जेजियानले तालिममा बाँसको चोयाबाट विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइने बताए । उनले चोयाको माध्यमबाट जीवन कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्नेकुरा तालिममा सिकाइने भन्दै यसबाट नेपाल र चीनका बीचमा सीप आदान–प्रदान पनि हुने उल्लेख गरे ।
अध्यक्ष माले यो कार्यक्रम केही वर्षअघि नै नेपाल ल्याउन चाहेको स्मरण गर्दै अहिले यहाँका कुशल कालिगढहरूले थप उन्नत सीप सिक्ने मौका पाउने विश्वास व्यक्त गरे । उनले यस कार्यक्रमबाट स्थानीय समुदायलाई फाइदा पुग्ने बताउँदै थप भने ‘हामी “प्लास्टिकको विकल्पका रूपमा बाँसको अवधारणालाई प्रवद्र्धन गर्दै हरित विकासलाई प्रोत्साहित गर्न चाहन्छौं, जसले हाम्रो वातावरणलाई अझ सुन्दर बनाउनेछख । यस तालिमको माध्यमबाट, नेपाली मित्रहरूले चीन र चीनको बाँस संस्कृति अझ राम्रोसँग बुझ्ने अवसर पाउनेछन् ।’
गोदावरी चेम्बरअफ कमर्सका अध्यक्ष राजन महर्जनले सन् २०१५ मा चीनले बाँसबाट गरेको समृद्धि देख्ने अवसर पाएको स्मरण गर्दै यो कार्यक्रम नेपाल र चीनबीच जनस्तर र सांस्कृतिक सम्बन्ध बढाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरे । उनले सबै क्षेत्रको प्रयासले कार्यक्रम सफल बन्ने बताए । त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीले जीविकोपार्जनका लागि मात्र नभई उद्यमी र व्यापारी बन्नेगरी बाँसको सामग्री बनाउने गरी लाग्नुपर्ने बताए ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी समेत सहभागी भएको उद्घाटन कार्यक्रमलाई ग्रीन ब्याम्बो क्रियशन नेपालका संचालक प्रणव प्रधानले स्वागत गरेका थिए । बाँसका सामाग्री र फर्निचरमा ख्याति कमाएको चीनको सिचुआन प्रान्तस्थित मेइशान सहरका उद्योगी एवं वरिष्ठ कालिगढ लि यिनहाई र सुआई यानपिङले प्रशिक्षार्थीहरूलाई लालटिन लगायत बाँसको चोयाबाट बन्ने सामाग्री तयार पार्न सिकाउनेछन् ।
नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दाबढी प्रजातिका बाँस पाइन्छन् । बाँसको व्यवसायिकरणका लागि नेपालमा पनि विभिन्न प्रयासहरू सुरु भएका छन् । गत फागुन १५ गतेदेखि १७ गतेसम्म खोटाङको दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मेलन समेत सम्पन्न भइसकेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू