
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् ।
मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।
‘कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ’, उनले भने, ‘कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे ।’ उनको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पालेका छन् । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् । सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बताए ।
मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन् । बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ । फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन् । बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउँछन् । ‘छिमेकी र आफन्तले बाहुनले बङ्गुर पाल्न हुँदैन भनेर सुझाएका थिए’, तारानाथले भने, ‘पहिले बङ्गुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन् ।’
सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्छन् । फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो । परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।
सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो । दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ । बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उहाँको योजना छ । ‘घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ’, उनले भने, ‘विदेश जाने योजना बनाएको छैन । स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु । बङ्गुरपालनबाट सन्तुष्ट छु ।’













समाचार
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?