
मुस्ताङ । यहाँ हिउँ चितुवाको आक्रमणबाट दुई गोठका आठ च्याङ्ग्रा मरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवाले स्थानीय च्याङ्ग्रा पालक किसानको खोरभित्र पसेर आठ च्याङ्ग्रा मारेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
च्याङ्ग्रा पालक किसान ङातर गुरुङका ५० मध्ये चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेका छन् । हिउँ चितुवा मध्यरातमा गाउँभित्रको ढुङ्गा र माटोले बनेको गोठको क्षेत्रभित्र पसेर च्याङ्ग्रा मारेर क्षति तुल्याएको च्याङ्ग्रा पालक गुरुङको भनाइ छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्दा रु दुई लाख २० हजार बराबरको नोक्सान भएको च्याङ्ग्रा उनले बताए ।
यसैगरी सोही स्थानकै अर्को च्याङ्ग्रा पालक पेम्मा गुरुङ पनि च्याङ्ग्राको माउ र पाठासहित गरी तीन च्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परी मरेका छन् । मध्यरातमा गोठको छतमाथि उक्लिएर गोठमा पसी ५२ च्याङ्ग्रामध्ये तीन हिउँ चितुवाले मारेको पशुपालक पेम्बाले बताए । उनका अनुसार अर्को एक पाठोसमेत हिउँ चितुवाको आक्रमणबाट घाइते भएको छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा क्षति हुँदा रु ६५ हजार बढीको घाटा भएको पशुपालक पेम्बाले सुनाए ।
हिउँ चितुवाले मुस्ताङको धार्काजुङमा च्याङ्ग्रा मारेको सूचनापछि गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, वडाध्यक्ष गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रतिनिधिसहित प्रहरी चौकी कागबेनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानीय जनप्रतिनिधि, च्याङ्ग्रा पालक, स्थानीय, एक्याप र सुरक्षा निकायको रोहबरमा हिउँ चितुवाले मारेको क्षति मूल्याङकन तथा घटनास्थलको विवरणसहितको मुचुल्का उठाउनेकार्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँ चितुवा विज्ञ डा मधु क्षेत्रीसमेतले घटनास्थलको अवलोकन गर्नुभएको थियो । हिउँ चितुवा विज्ञ डा क्षेत्रीले हिउँ चितुवा र मानवबीचको द्वन्द्व न्यूनिकरणका लागि आवश्यक अनुकुलनका उपाय अवलम्बन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । उनले आहाराको कमीले गर्दा पनि हिउँ चितुवा बस्ती नजिकको गोठमा पसेर च्याङ्ग्रा क्षति गर्ने गरेकाले च्याङ्ग्रा गोठ सुधार पहिलो आवश्यकता रहेको औँल्याए । उनले वन्यजन्तुको तथा हिउँ चितुवाको जोखिम न्यूनिकरण गराउन उच्चलेक र जङ्गलमा आहारा बढाउने गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष गुरुङले मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्वन्द्व बढ्दै जान थालेकोप्रति चिन्ता व्यक्त गरे । पालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनका कारण हिउँ चितुवाको आहारा नावर उच्चलेकबाट बेसी झर्न थालेको र त्यसलाई पछ्याउँदै गर्दा हिउँ चितुवाले पशु गोठमा क्षति पु¥याउने गरेको दाबी गरे । उच्चलेकमा खानेपानीको स्रोत घट्ने र चरनक्षेत्रमा घाँस पलाउने कम हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती नजिक आउने गरेको अध्यक्ष गुरुङले जनाए । स्थानीय किसानको पशुधनको रक्षा गर्न सरोकारवाला कार्यालयले भरपर्दो पूर्वाधार निर्माणमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको अध्यक्ष गुरुङले बताए ।













समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज