अल्लोबाट धागो बनाउन सिक्दै महिला

ताप्लेजुङ । यहाँको मैवाखोला गाउँपालिकाका महिला जंगलमा पाइने भाङ्ग्रे सिस्नु (अल्लो)लाई धागो बनाउने सीप सिकिरहेका छन्। स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै आर्थिक रूपले कमजोर महिलालाई सशक्त बनाउने अभियानमा गाउँपालिकाले सहयोग गरेको छ।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार अल्लोलाई ब्राण्डिङ गर्दै गाउँमै उत्पादन र रोजगारी सिर्जना गर्ने लक्ष्यसाथ यो अभियान तीन वर्षअघि सुरु गरिएको हो। ‘पहिले अल्लो जंगलमा खेर जान्थ्यो, अहिले त्यसैबाट धागो बुनिन्छ र कपडा तयार गरिन्छ’ अध्यक्ष वनेमले भने।

वि.सं. २०७९/८० मा सुरु भएको यस अभियानमा गाउँपालिकाले दर्खास्त आह्वानमार्फत सबै वडाबाट सहभागी सुनिश्चित गर्दै अल्लोबाट धागो बनाउने तालिम दिएको थियो। वि.सं. २०८०/८१ मा उक्त धागोबाट कपडा बुन्ने सीप प्रदान गरिएकाे थियाे।

चालु आर्थिक वर्षमा भने तालिमको दायरा अझ फराकिलो बनाउँदै कपडालाई परिष्कृत रूप दिने गरी विस्तार गरिएको छ। तालिमसँगै सहभागीलाई व्यक्तिगत सिलाइबुनाइ मेसिन पनि प्रदान गरिएको छ। अध्यक्ष वनेमका अनुसार अब उत्पादनको गुणस्तर सुधार गर्न थप ‘पुनर्ताजगी तालिम’ दिने योजना बनाइएको छ। साथै, उत्पादित सामग्रीको बजारीकरणका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाले अपेक्षा लिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार