हिमाली बौद्धमार्गीहरूले मनाउने सागा दावाः महत्व र उत्सव

सागा दावा हिमाली बौद्धमार्गीहरूले मनाउने एक पवित्र पर्व हो । तिब्बती बौद्ध परम्पराअनुसार वैशाख पूर्णिमाको दिन (तिब्बती क्यालेन्डरको चौथो महिनाको १५ औँ दिन) नेपालका हिमाली क्षेत्रमा उत्साहपूर्वक मनाइन्छ । यो पर्व गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (निधन) को स्मरणमा समर्पित छ । यी तीन महत्वपूर्ण घटनाहरू एकै दिन भएको विश्वासका कारण सागा दावालाई ‘त्रिकालिक पवित्र पर्व’ पनि भनिन्छ ।

हिमाली बौद्ध समुदायमा सागा दावाको विशेष धार्मिक र सांस्कृतिक महत्व छ । यो पर्व करुणा, शान्ति र अहिंसाको सन्देश फैलाउने अवसर हो । बौद्धमार्गीहरू यो दिन स्तुप र गुम्बाहरूमा भेला भई प्रार्थना, ध्यान, दीप प्रज्वलन र बुद्धको उपदेशको पाठ गर्छन् । धेरैले मांसाहार त्यागेर शाकाहारी भोजन ग्रहण गर्छन् र दान–पुण्यमा जोड दिन्छन् । कतिपय ठाउँमा बुद्धको जीवन र शिक्षालाई झल्काउने झाँकी र नाटकहरू पनि प्रदर्शन गरिन्छ ।

सागा दावाले व्यक्तिलाई आफ्नो कर्म, विचार र व्यवहारप्रति सचेत बनाउँछ । हिमाली क्षेत्रमा, जहाँ बौद्ध धर्म गहिरो रूपमा जरा गाडिएको छ त्यहाँ यो पर्वले समुदायलाई एकताबद्ध बनाउँछ र सांस्कृतिक पहिचानलाई जीवित राख्छ ।

नेपालका हिमाली जिल्लाहरू जस्तै सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ लगायतमा यो पर्वले पर्यटनलाई पनि प्रोत्साहन गर्छ । बौद्ध गुम्बाहरूमा आयोजित समारोहले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्छ । सागा दावाले बुद्धको शान्ति र करुणाको सन्देशलाई मात्रै फैलाएको छैन, यो पर्वले हिमाली बौद्धमार्गीहरूको आध्यात्मिक र सामाजिक जीवनमा गहिरो प्रभाव पारेको छ । र, सत्य र अहिंसाको मार्गमा अघि बढ्न प्रेरित गर्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार