असार ३ , काठमाडौ । अन्ततः सहमतिको प्रयासका बावजुद निर्वाचनको प्रक्रियामा गई नेपाल शेर्पा शेर्पा संघको ७ औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित नयाँ कार्यसमितिमा सिन्धुपाल्चोकमा लाक्पा ठिले शेर्पा (हिमाली कान्छा) अध्यक्ष चुनिएका छन् । लाक्पा ठिलेले अध्यक्षका अर्का प्रत्यासी रामेछाप जिल्लाका तेन्जी शेर्पालाई पराजित गरेका हुन् । लाक्पा ठिलेले २१३ मत ल्याउँदा तेन्जी शेर्पालाई १४४ मत परेको छ । तेन्जीलाई ६९ मतले पछि पारेका लाक्पा ठिलेको काँधमा शेर्पा संघको नयाँ कार्यसमितिको बागडोर आएको छ ।
यसै वर्ष विधान संशोधन गर्दै मुलुकको शासकीय व्यवस्था अनरुप ढालिएक शेर्पा संघमा देशका विभिन्न भूगोलबाट प्रतिनिधि सहभागि थिए । पूर्वको ताप्लेजुङदेखि पश्चिमको कैलालीदेखि महाधिवेशनमा प्रतिनिधि सहभागि थिए ।
कार्यसमितिमा अरु को को ?
सोमवार राति अबेर सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा लाक्पा ठिलेसँग वरिष्ठ उपाध्यक्षमा लाक्पा शेर्पा, तीन उपाध्यक्षहरुमा दावा शेर्पा, संजय शेर्पा र बाबुकाजी शेर्पा निर्वाचित भएका छन् भने तीन जना महिला उपाध्यक्षहरुमा ल्हमु शेर्पा, लन्जम शेर्पा र आङकान्डु शेर्पा निर्वाचित भए । महासचिवमा लाक्पा गेल्जे शेर्पा, उप–महासचिवमा साङ दोर्जे शेर्पा, सचिवमा मिङमार सार्की शेर्पा, माछिरी शेर्पा र दावा शेर्पा (डि.एन.) निर्वाचिन भएका छन् भने कोषाध्यक्षमा आङ दोर्जे शेर्पा र सह–कोषाध्यक्षमा नुर्पु शेर्पा निर्वाचित भए ।
नयाँ कार्यसमितिमा निर्वाचित सदस्यहरुको नामावली यसप्रकार रहेको छः
१. लाक्पा शेर्पा
२ .सोनाम टाशी शेर्पा
३. दोर्जे शेर्पा
४.लाक्पा रिन्जे शेर्पा
५. छिरिङ शेर्पा
६. ङाटासी शेर्पा
७. छिरिङ शेर्पा
८. लाक्पा शेर्पा
९. पासाङ किपा शेर्पा
१०.सोनाम शेर्पा
११. बिरे शेर्पा
१२.आङनिमा शेर्पा
१३.छोङबा शेर्पा
१४.नुर्बु शेर्पा र
१५. ल्हाक्चुङ शेर्पा (सलाका)

रोचक चुनावी भिडन्तः
नेपाल शेर्पा संघको चुनावी प्रतिष्पर्धा निकै रोचक रह्यो । अग्रजहरुले सहमतिको प्रयास गर्दागर्दै पनि अन्तत प्रतिष्पर्धा निर्वाचनमै होमिएको थियो । सोमवार राति बौद्धस्थित शेर्पा सेवा केन्द्रमा चुनावी माहोल निकै गर्माएको थियो । राजनीतिकबाट संघलाई टाढै राख्ने उद्घोषका बीच पनि अध्यक्षका उम्मेदवार रहेका लाक्पा ठिले र तेन्जी शेर्पालाई विभिन्न राजनीतिक दलसँग सम्बन्ध संगठनहरुले खुलेरै समर्थन गरेका थिए । अध्यक्षमा निर्वाचिन लाक्पा ठिलेलाई समाजवादी शेर्पा संघ (जसपा नेपाल) ले समर्थन जनाएको थियो । उनी नेपाली कांग्रेस सम्बद्ध नेपाल लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष समेत हुन् ।
अर्का उम्मेदवार तेन्जी शेर्पालाई पनि विभिन्न राजनीतिक दल सम्बन्ध संगठनहरू माओवादी केन्द्रको शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेकपा एमालेको लोकतान्त्रिक शेर्पा संघ, जसपाको संघीय समाजवादी शेर्पा संघ, नेसपाको शेर्पा संघ (एकीकृत) लगायतका अन्य साना दलहरूले उनलाई समर्थन जनाएका थिए ।
नयाँ कार्यसमितिलाई अवसर र चुनौति
निर्वाचित नयाँ कार्यसिमितिसमक्ष शेर्पा समुदायका लागि गर्नु कामहरुको धेरै अवसरहरु रहेको छ । संघले पार गरेको लामो कार्याकालमा संघको भवन लगायतका धेरै कुराहरुको बन्दोबस्त भइसकेको छ । संघ संस्थागतरुमा मजवुत अवस्थामा पनि छ । देशभरका शेर्पाहरुले आफ्नो हकहितको सबैभन्दा शक्तिशाली संस्थाका रुपमा शेर्पा लिन्छन् । देशव्यापी फैलिएको सञ्जालहरुका कारण पनि अहिले शेर्पा संघलाई देशभित्र जुनसुकै कार्यक्रमहरु आयोजना गर्नु त्यति गा¥हो छैन । तर यति हुँदा हुँदै पनि शेर्पा संघमार्फत नयाँ कार्यसमितिमाथि चुनौतिहरु पनि नभएको होइन । संस्कृति, धर्म र रितिरिवाजका लागि काम गर्ने अन्य धेरै संस्थाहरुका बीच शेर्पा संघ शेर्पा समुदायको राजनीतिक अधिकारलाई स्थापित गराउन भनेर बनेको संस्था हो । जनसंख्याको आधारमा देशभित्र शेर्पा समुदायको समानुपातिक प्रतिनिधित्व छैन । यो कुरालाई जोडदाररुपले उठाउने पर्ने दायित्व लाक्पा ठिले नेत्तृत्वको शेर्पा संघलाई छ । शेर्पा स्वायत्त प्रदेश अर्थात शेर्पा लुङको माग समेत शेर्पा समुदायभित्र विचारको रुपमा स्थापित भइसकेको छ । त्यसैले पनि नयाँ कार्यसमितिले यो मागलाई चलाखीपूर्वक राज्यका निकायहरुमा स्थापित गराउन सक्नु पर्छ । यी र यस्ता अवसर र चुनौतिहरुका बीच शेर्पा संघको नयाँ कार्यसमितिले कस्तो यात्रा तय गर्छ, त्यसैमा कार्यसमितिको भविष्य र शेर्पा समुदायको आशा र विश्वास अडेको छ ।