
शनिवार ११ औँ अन्तराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा पनि यो दिवस विशेष महत्व दिएर मनाइयो । प्रधानमन्त्री, मन्त्री लगायतका उच्चपदस्थहरुले योग दिवसमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागि हुँदै योगको महत्वको बारेमा ब्याख्या गरेका छन् । योग, प्राचीन पूर्वीय दर्शन र जीवनशैलीको अभिन्न अंग हो । मानव जीवनलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सन्तुलित बनाउने एउटा समग्र अभ्यासको रुपमा योग स्थापित छ ।। योगको अर्थ संस्कृत शब्द युजबाट आएको हो । जसको अर्थ हुन्छ जोड्नु वा एकताबद्ध गर्नु । यो शरीर, मन र आत्माबीचको एकताको प्रतीक हो । योगले तनाव व्यवस्थापन, शारीरिक लचकता, मानसिक शान्ति र आध्यात्मिक उन्नतिलाई प्रोत्साहन मात्रै गर्दैन यसले व्यक्तिलाई आत्म–अनुशासन, ध्यान र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । योगको नियमित अभ्यासले जीवनमा सकारात्मक परिवर्तन ल्याउँने हुनाले व्यक्तिगत र सामाजिक कल्याणमा योगदान पु¥याउँछ ।
योगको विकास कसरी भयो ?
योगको उत्पत्ति हजारौं वर्षअघि प्राचीन भारतीय उपमहाद्वीपमा भएको मानिन्छ । वेद, उपनिषद् र भगवद् गीताजस्ता ग्रन्थहरूमा योगको उल्लेख पाइन्छ । पतञ्जलिको योगसूत्रले योगलाई व्यवस्थित रूपमा प्रस्तुत ग¥यो । यसमा अष्टांग योग अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको अवधारणा समावेश छ । प्राचीन कालमा योग साधु–सन्तहरूको आध्यात्मिक साधनाको सर्वोत्कृष्ट माध्यम थियो । समयक्रमसँगै योगको विकास र विस्तार पनि हुँदै गयो । मध्यकालमा हठयोग र भक्तियोगजस्ता विभिन्न शाखाहरू पनि विकसित भए । आधुनिक युगमा स्वामी विवेकानन्द, टी. कृष्णमाचार्य र बी.के.एस. अयङ्गार, रामदेवजस्ता योग गुरुहरूले योगलाई विश्वव्यापी बनाउन महत्वपूर्ण योगदान दिए ।
योग र पूर्वीय सभ्यताको अन्तरसम्बन्ध
योगलाई पूर्वीय सभ्यताको मेरुदण्ड रहेका हिन्दु, बौद्ध, जैन धर्म र दर्शनको अभिन्न हिस्सा मानिन्छ । यी मुख्य धर्म र दर्शनले योगलाई शारीरिक अभ्यास मात्रै नभई जीवनको समग्र दृष्टिकोणको रूपमा ग्रहण गरेका छन् । योगले व्यक्तिलाई प्रकृतिसँग जोड्न, आत्मसंयम सिकाउन र आन्तरिक शान्ति प्राप्त गर्न सहयोग गर्छ । पूर्वीय दर्शनमा योग र ध्यानलाई मोक्ष वा निर्वाण प्राप्तिको सबैभन्दा उत्तम मार्गको रुपमा लिइन्छ । योगको महत्वलाई उल्लेख गर्दा ध्यानलाई पनि छुटाउन मिल्दैन । योग र ध्यान एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । योग र ध्यान दुवैले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् । योगले शारीरिक अभ्यास अन्तर्गत आसन, प्राणायाम र ध्यानलाई समेट्छ । त्यसैले ध्यान योगकै एउटा महत्वपूर्ण हिस्सा हो ।
योगले शारीरिक लचकता, शक्ति र सन्तुलन बढाउँछ भने ध्यानले मानसिक स्पष्टता, तनाव व्यवस्थापन र भावनात्मक स्थिरता प्रदान गर्छ । त्यसैले योग र ध्यान एक सिक्काका दुई पाटा हुन् ।
योगको विश्वव्यापी उडान
अहिले योग विश्वव्यापी बनेको छ । १९ औं शताब्दमा स्वामी विवेकानन्दले पश्चिमी देशहरूमा योगलाई पु¥याए । संयुक्त राष्ट्र संघको इतिहासमै अत्याधिक सह–प्रस्तावक राष्ट्रहरूको समर्थन प्राप्त गर्ने प्रस्तावहरू मध्ये विश्य योग दिवस घोषणा गर्ने प्रस्ताव पर्दछ । सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्ने प्रस्ताव हूँदा १७७ देशले समर्थन गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव संयुक्त राष्ट्र संघको महासभामा प्रस्तुत गरेका थिए । जुन २१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि त योगको महत्व र लोकप्रियता झन बढ्यो । आज विश्वभर योग शिविर र प्रशिक्षण केन्द्रहरू स्थापना गरिएका छन् । कोरोना महामारीपछि डिजिटल प्रविधिमा विश्व अभ्यस्त बन्दा अहिले अनलाईनबाटै विश्वका विभिन्न कुना कन्दरामा योग कक्षाहरु सञ्चालन हुन थालेका छन् । विश्वका विविध संस्कृति अन्तर्गतका समाज वा राष्ट्रहरूले पनि योगलाई आफ्नो जीवनशैलीमा समावेश गरेका छन् । यसले गर्दा पनि आज योगले विश्वव्यापी उडान मात्रै भरेको छैन यसको स्वीकार्यता र प्रभाव पनि विश्वव्यापी नै बनेको छ ।
योग किन यति धेरै लोकप्रिय ?
योग मानशिक सन्तुलनका लागि मात्रै नभएर हाम्रो स्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको छ । त्यसैले पनि अहिले योगको अपरिहार्यता बढेको हो र यो दिनप्रतिदिन लोकप्रिय बन्दै गएको हो । योग र स्वास्थ्यबीच गहिरो सम्बन्ध छ । योगले शारीरिक स्वास्थ्यलाई सुधार गर्छ । योगको नियमित अभ्यासले मांसपेशीको लचकता, रक्तसञ्चार, रोग प्रतिरोधक क्षमता र पाचन प्रणालीको सुदृढीकरण हुन्छ । प्राणायाम र ध्यानले मानसिक स्वास्थ्यमा सुधार ल्याउने हुँदा तनाव, चिन्ता र डिप्रेसनलाई कम गर्छ । वैज्ञानिक अध्ययनहरूले पनि योगले उच्च रक्तचाप, मधुमेह र हृदयरोगजस्ता समस्याहरूलाई नियन्त्रण गर्न सहयोग पुग्ने तथ्यहरु पुष्टि गरिसकेका छन् ।
योग र नेपालको प्राचीन सम्बन्ध
योग र नेपालबीच वैदिककालदेखि नै विशिष्ट सम्बन्ध छ । विशेष गरी नेपालको हिमालय क्षेत्र प्राचीन कालदेखि नै योग, ध्यान र आध्यात्मिक साधनाको केन्द्र रहेको छ । योगको उत्पत्तिको बारेमा वैदिक साहित्य ऋग्वेद, उपनिषद्हरुमा पाइन्छ । ती धार्मिक ग्रन्थहरुमा वर्णन भएअनुसार नेपाल वैदिक सभ्यताको एक महत्वपूर्ण भूमि र योगको सुरुवाती साधनास्थल थियो । काठमाडौँ उपत्यका र हिमालय क्षेत्रमा ऋषिमुनिहरूले योग र ध्यानको अभ्यास गर्थे । पतञ्जलिको योग सुत्र अघि नै नेपालमा योगको अभ्यास प्रचलित थियो । नेपालको हिमालय क्षेत्रका मुक्तिनाथ, गोसाइँकुण्ड, कालिन्चोक लगायतका स्थानहरु योगी, सिद्धगुरु र तपस्वीहरूको साधनास्थल थियो । नेपालमा शैव र बौद्ध तान्त्रिक परम्पराले योगलाई समृद्ध बनाएको छ भने बुद्धमार्फत् ध्यान र योगको बौद्ध दृष्टिकोण विश्वमा फैलियो । यसबाहेक विशेषगरी जनकपुर अर्थात मिथिला क्षेत्रमा पनि वैदिक युगमै योगको उल्लेख्य विकास भइसकेको थियो । राजा जनक र योगी याज्ञवल्क्यको सम्बन्धले पनि यो भूमिमा योगको प्रारम्भिक विकास भएका पुष्टि हुन्छ । पशुपतिनाथलाई योगीहरूको देवता आदियोगी शिव मानिन्छ । यसले पनि यहाँको साधना परम्पराले नेपाललाई निर्विकल्प योगको पवित्र भूमि भन्ने स्थापित गर्छ ।










समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू